
एसिड प्रहार भएको १२ दिनपछि हिजो सम्झना दास सम्झनामा मात्र सीमित भएर सदाका लागि बिदा भइन्। बहिनी सुस्मिता अस्पतालमा उपचाररत छिन्। चितवनमा बसन्ती परियारमाथि एसिड प्रहार भएको घटना आज बाहिरियो। उनको शरीरको २५ प्रतिशत भाग जलेको छ।
यस्तो खबरले एकसाथ ममा अथाह आक्रोश र आँसु पैदा गर्छ। सम्झनालाई हार्दिक श्रद्धान्जली अनि सुस्मिता र बसन्तीको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु। महिलामाथि हुने हरेक हिंसाले बिथोल्छ मलाई। त्यसमाथि एसिड भन्नासाथ शरीर नै उम्लन्छ, कहाली लाग्छ।
त्यसैले ‘रुद्रप्रिया’ बनाएँ, एसिड पिडीत महिलाको साहस र प्रतिशोधको कथा भन्ने प्रयास गरें। त्यस फिल्मलाई मैले महिला हिंसा विरोधी अभियानकै रुपमा लिएको छु। तर हामीले जत्ति नै आधुनिक भयौं, महिला–पुरुषको विभेद हटायौं भने पनि ‘रुद्रप्रिया’हरु अझ जन्माइरहेका छौं। अचम्म त के भने, सम्झनाको ज्यानै जाँदा अनि बसन्ती मृत्युसँग लडिरहँदा पनि विरोधका आवाज मुखरित भएका छैनन्, न उनीहरुको उपचार खर्चकै बारेमा कसैलाई चासो छ। त्यसमा दुई कारण छन्। एक, उनीहरु कथित तल्लो जातका हुन्। अर्को, विपन्न आर्थिक अवस्थाका पनि। त्यसैले त उनीहरुमाथि त्यतिविघ्न अन्याय हुँदा पनि हामी मौन छौं।
यही घटना सहरको कुनै सम्पन्न परिवारमा हुँदो हो त? चाहे एसिड आतंक होस्, चाहे बलात्कार। गुदी कारण एउटै छ, जब केटीले केटाको इच्छा अस्वीकार गर्छिन्, तब कुनै न कुनै रुपको शारीरिक र मानसिक हिंसाको सिकार हुनैपर्छ। सम्झना र बसन्तीको हकमा त्यही भएको हो। अर्थात, समाजमा स्त्री भोग्या साधन नै हुन् सोच अझ प्रखर हुँदैछ। हाम्रो सुन्दरता नै हाम्रा लागि अभिसाप बनेको छ। के मुस्कुराउनु वा सुन्दर हुनु अपराध हो र? यही पाराले हामी कस्तो समाज निर्माण गर्दैछौं? ठन्डा दिमागले सोच्नु पर्छ। अपराधीलाई कठोरभन्दा कठोर सजाय त हुनु पर्छ नै तर यत्तिले मात्र महिलामाथिको आतंक रोकिन्न। त्यसका लागि अभिभावक, परिवार र समाजले हरेक पुरुषलाई हरेक महिला र उनको स्वतन्त्रतालाई सम्मान गर्न सिकाउनु पर्छ।
अन्यथा, ‘रुद्रप्रिया’ जन्मने श्रृंखला कहिल्यै रोकिने छैन। र, यसो हुनु भनेको, मानव सभ्यतालाई थप प्रदूषित र कंलकित पार्नु हो।
(अभिनेत्री रेखा थापाको फेसबुक स्टाटस।)