
भद्रपुर – भद्रपुर नगरपालिका क्षेत्रका भुस्याहा कुकुरको लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सोमबार सुरु भएको यो अभियान शुक्रबारसम्म चल्नेछ ।
कुकुरको टोकाइबाट सर्नसक्ने प्राणघातक रेविज फैलन नदिन कुकुरको संख्यामा कमी ल्याउन बन्ध्याकरण अभियान चलाइएको भद्रपुर नगरपालिकाले जनाएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भएका कारण कुकुरको बन्ध्याकरण गरी प्रजनन् दर घटाउने उपाय अपनाइएको हो ।
भद्रपुर नगरपालिका पशु सेवा शाखाको आयोजना र जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हिमालयन एनिमल रेस्क्यू ट्रष्टको प्राविधिक सहयोगमा सडक सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको हो ।
भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले बन्ध्याकरण शिविरको उद्घाटन गर्दै मार्न नपाइने भएपछि भुस्याहा कुकुरको संख्यामा कमी ल्याउन रेविजको जोखिम न्यूनिकरण गर्न कुकुरको बन्ध्याकरण नै उत्तम विकल्प भएकोले नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने बताए ।
भद्रपुर नगरपालिकामा यसप्रकार कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो । यसपटक पाँच दिनमा दुईसय बढीको बन्ध्याकरण गरिने हार्टले जनाएको छ । भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको सो संस्थाले जनाएको छ ।
शिविरमा डा. चन्द्र राई, डा. विशाल चौधरी, डा. समिर थापा, डा. गोपाल देवकोटालगायतको १३ जनाको प्राविधिक टोली खटिएका छन् । दैनिक ४०–५० वटा कुकुरको बन्ध्याकरण गरिने छ । एउटा कुकुरको बन्ध्याकरण गर्न २० देखि ३० मिनेट लाग्ने प्राविधिकको भनाइ छ । खासगरी छाउरी कुकुरको बन्ध्याकरण गरिनेछ । खर्चको हिसाबले एउटा कुकुरको बन्ध्याकरण गर्दा दुई हजार रुपैयाँ पर्छ ।
‘मान्छेको जस्तै नै त हो प्रक्रिया, खर्चिलो पनि छ’, प्राविधिक भन्छन्, ‘त्यसैले सबै व्यवस्थापन गर्न संस्थाले मात्र सक्दैन, स्थानीय तहले सहयोग पुर्याउनुपर्ने हुन्छ ।’