
काठमाडौं- पत्रकार रवि लामिछानेको नागरिकता विवाद चुलिएपछि नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठका नाममा दर्जनौं फेसबुक अकाउन्ट खुले। श्रेष्ठकै तस्विर प्रोफाइल फोटो राखेर बनाइएका ती अकाउन्टमा स्वयं आफैँलाई गाली गर्ने र आत्मालोचना भएका स्टाटसहरु शृंखलाबद्द रुपमा राखिए।
’मेरो वास्तविक अकाउन्ट ह्याक गरिएको थियो। धेरै जनाले रिपोर्ट गरेपछि फेसबुकले अकाउन्ट बन्द गर्ने रहेछ। त्यसपछि मेरो नाममा धेरैवटा अकाउन्ट खुले। पछि मानिसहरु पक्राउ पर्न थालेपछि केही प्रहरी आफैँले बन्द गर्यो भने केही आफैँ बन्द भए। प्रहरीले पछि मेरो वास्तविक अकाउन्ट फेसबुकलाई आग्रह गरेपछि खोलिदियो’, श्रेष्ठ भन्छन्। करिब एक महिनापछि उनको पुरानो अकाउन्ट खुलेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा मात्र उनको तस्विर राखिएका बनाइएका ११ वटा फेसबुक अकाउन्ट छन्। केपी शर्मा ओलीको नाममा उनको तस्विर प्रोफाइल बनाइएका १० वटा ट्वीटर अकाउन्ट छन्। ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पनि हुन्। केपी ओली र खड्गप्रसाद ओलीको नाममा प्रधानमन्त्री ओलीकै तस्विर प्रयोग गरेर प्रोफाइल बनाइएका थुप्रै फेसबुक अकाउन्ट छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको नाममा उनको तस्विर प्रोफाइल बनाईएका ३७ वटा अकाउन्ट छन्। ट्वीटरमा पनि उनको तस्विर प्रोफाइल बनाइएका एक दर्जन अकाउन्ट छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा उनको तस्विर प्रोफाइल बनाईएका ६ वटा अकाउन्ट छन्। उनको नाममा ८ वटा ट्वीटर अकाउन्ट छन्। युवा नेता गगन थापाको नाममा ८ वटा फेसबुक अकाउन्ट छन्।
क्रिकेटर पारस खड्काको नाममा उनको तस्विर प्रयोग गरी प्रोफाइल बनाईएका ५० भन्दा बढी फेसबुक अकाउन्ट छन् । पारस खड्काको नाममा उनकै तस्विर प्रयोग गरि खुलेकाा ट्वीटर अकाउन्ट करिब एक दर्जन छन्। अर्का युवा क्रिकेटर सन्दीप लामिछानेको नाममा उनको तस्विर प्रोफाइल पिक्चर बनाईएका ४० भन्दा बढी फेसबुक अकाउन्ट छन्। पत्रकार रवि लामिछानेको नाममा उनको तस्विर प्रोफाइल बनाईएका ७० भन्दा बढी फेसबुक अकाउन्ट छन्।
साइबर सम्बन्धी अपराध हेर्ने एक प्रहरी अधिकृत भन्छन्, हामीले प्रधानमन्त्री ओलीका नाममा खोलिएका थुप्रै फेसबुक र ट्वीटर अकाउन्ट बन्द गरेका छौं तर जति नै बन्द गरेपनि नरोकिने रहेछ।
सामाजिक सन्जालको बढ्दो पहुँचसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। विषेश गरी फेक अकाउन्ट बनाएर बेइज्जत गर्ने,चरित्र हत्या गर्ने क्रम पछिल्लो समय बढ्दो छ। तर राष्टियस्तरमा नाम चलेका ब्यक्तिको बारेमा बनाइएका फेक अकाउन्ट भने यी प्रवृतीभन्दा फरक किसिमका हुने प्रहरीको भनाई छ।
टोल सेयर गर्नेसँग एक लाख धरौटी मागियो
प्रधानमन्त्रीको टाउको र बाँधरको शरिर जोडिएको तस्विर सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिकाका वडा सचिव होमनाथ सिग्देललाई जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग्यो। यसैगरी राष्टपती विधादेवी भन्डारीलाई सामाजिक सन्जालमार्फत गाली र बेइज्जती गरेको आरोपमा पक्राउ परेका एक ब्यक्तीलाई अदालतले पाँच वर्ष कैद र एक लाख जरिवाना सुनाएको छ। ती व्यक्ति हाल जेलमा छन्।