
थारू समुदायको महान् पर्व हो- जितिया। महिलाहरू आआफ्ना सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्। थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ।’
देवी पार्वतीले देवादिदेव महादेवलाई सोधिछन्- मृतभुवन (पृथ्वीलोक) मा महिलाले आआफ्ना सन्तानको सफलता, समृद्घि, उन्नति आदिको लागि कुनै व्रतको व्यवस्था छ? उत्तरमा महादेवले सुझाएछन्- जितिया। तत्पश्चात् नै सुरु भएको यो व्रत आज पनि यस धर्तीमा चलिरहेको छ।
विशेषगरी जितिया पर्व नेपालको तराईमा मनाइन्छ। सीमावर्ती भारतका बिहार, उत्तर प्रदेश, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेशमा पनि यो पर्व मनाइन्छ। यस समुदायका सधवा तथा विधवा महिला आआफ्नै व्यवहार र चलनचल्तीअनुसार श्रद्घा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन्।
प्राचीन समयमा सालिकवाहन नामका महाप्रतापि तथा महाधार्मिक राजा थिए। उनकी मसवासी नामकी छोरी थिइन्। छोरी जति सुन्दरी थिइन्, उत्तिकै धार्मिक पनि। उनी हुर्कंदै गइन् र उमेर पुगेपछि राजाले विवाहको कुरा चलाए, तर राजकुमारीले आफू बिहे नगर्ने बताइन्। छोरीको कुरो सुनेर राजा आश्चर्यचकित भए र उनलाई लाखौंपटक सम्झाए, तर मसवासीले मानिनन्।
सूर्यले जितुवालाई आशीर्वाद दिए-अबदेखि लोकका कुनै पनि विवाहिता महिलाले नियम, निष्ठा तथा श्रद्घाभक्तिपूर्वक जितमहानको पूजा अर्थात् जितिया व्रत गरेमा उनका सन्तति दीर्घायु हुनेछन्। त्यसपछि बल्ल जितुवा हाँसीखुसी घर फर्के र यो वृत्तान्त सबैलाई सुनाए।
अन्ततः राजाले मसवासीको इच्छानुसार राजमहल बाहिर कुटी बनाइदिए। तत्पश्चात् राजकुमारी त्यही कुटीमा बसेर साधक जीवन बिताउन थालिन्। उनी हरेक दिन सूर्योदयअगाडि नै नदीमा गई नुहाइधुवाई गरी पूजाआजामा व्यस्त हुन थालिन्। संयोगले एक दिन बिहान उनी ढिला उठिन्। नदीमा पुगी नुहाई आ श्रममा फर्कंदा सूर्य उदाइसकेछ। सूर्यको प्रकाश उनको शरीरमा पर्यो।
सूर्यको तेजको प्रभावले उनी गर्भवती भइन्। अविवाहित साध्वी छोरी गर्भिणी भएको कुराले राजा र देशवासी नै चकित परे र रिसले आगो भए। मसवासीले यसबारेमा आफ्नो कुनै दोष नभएको बताइन्, तर उनको कुरो कसैले बुझ्न सकेनन्। उनले अन्ततः एउटा छोरो जन्माइन्। सबै कुरामा आफ्ना साथीहरूलाई जित्ने छोरो जन्मिएकाले उनको नाम जितुवा राखियो।
उनका साथीहरू जितुवाको क्षमता देखेर डाह गर्थे। मनमनै अनेर्वा (बुबा नभएका) भनेर जितुवालाई गाली गर्दथे। साथीहरूसँग एउटा खेल खेल्ने क्रममा जितुवालाई उनका बुबाको नाम आवश्यक पर्यो र बुबाको नाम थाहा नपाएकाले उनी समस्यामा परे। पछि आमाले जितुवाका बुबाको नाम सूर्य भनेपछि मात्रै जितुवाले खेलबाट मुक्ति पाए।
तर जितुवालाई आफ्नो बुबा सूर्य भएकोमा विश्वास थिएन। अन्नतः उनी सूर्य भेट्न यात्रामा निस्के। केही दिनको बाटो हिँडिसकेपछि सूर्य भगवान्ले विचार गर्न थाले- मकहाँ आएपछि त मेरो छोरो जितुवा डढेर भस्म भइहाल्छ। त्यसकारण सूर्यदेव आफैं मानिसको रूपमा जितुवालाई दर्शन दिए र छोरालाई सम्झाएर घर फर्काए।
यस क्रममा सूर्यले जितुवालाई आशीर्वाद दिए-अबदेखि लोकका कुनै पनि विवाहिता महिलाले नियम, निष्ठा तथा श्रद्घाभक्तिपूर्वक जितमहानको पूजा अर्थात् जितिया व्रत गरेमा उनका सन्तति दीर्घायु हुनेछन्। त्यसपछि बल्ल जितुवा हाँसीखुसी घर फर्के र यो वृत्तान्त सबैलाई सुनाए।
यसै सन्दर्भसँग मिल्ने अर्को कथा छ। नर्मदा नदीको शर्वदा घाटमा महिला भेला भएछन्। किनारामा एउटा ठूलो रुख थियो। रुखको टुप्पोमा एउटा चील र फेदमा एउटा स्याल बस्दथ्यो।
लामो समय सँगै बस्दा तिनीहरूबीच मित्रता थियो। घाटमा महिलाहरूले जितिया व्रत लिएको रहस्य पनि स्याल र चीलले थाहा पाएछन्। त्यसपछि उनीहरूले पनि व्रत लिने निश्चय गरेछन्।
महिलाले छोडेका पूजा साम्राज्ञीहरूबाट चील र स्यालले पनि नदीमा नुहाई व्रत लिएछन्। त्यस रात दर पनि खाएछन्। अष्टमी तिथिमा फेरि महिलाले घाटमा गई विधिपूर्वक जितमहानको पूजाआजा गर्छन् भने जितिया कथा श्रवण गरी व्रत सम्पन्न गरी घर फर्केछन्। चील र स्यालले पनि त्यसै गरेछन्। तर राति स्याललाई साह्रै भोक लागेछ र भोक थेग्न नसकेपछि उसले नजिकैको चिहानमा गाडिएको बालकको शव खाएछ।
चिलले यो सबै कुरा थाहा पाएछन्, तर पनि उसले व्रत बिथोलिने भएकाले केही भनेनछ। पछि दुवैजना आफ्नो व्रतको प्रभाव जाँच्न कुम्भ मेला गए र व्रतको प्रभावले चील र स्याल जम्ल्याहा दिदीबहिनी भएर वेदका ज्ञाता भास्कर ब्राह्मणको घरमा जन्म लिएछन्। चील जेठी दिदी सोमता र शिलावती भइन भने स्याल कान्छी बेमता र कर्पुपुरावती भइन्। यी दुवै जवान भएपछि एक राजा र एक धनाढ्यसँग बिहे भयो, तर पूर्वजन्ममा व्रत उल्लंघन गरेकाले कान्छी वेमताले भने सन्तान वियोग खप्नुपर्यो। पछि फेरि उही जितिया व्रत बसेपछि वेमताको जीवनमा समेत वहार आयो।
जितिया पर्वलाई भाइबहिनीबीचको स्नेहपूर्ण मिलन पर्वको रूपमा पनि मनाइन्छ। आफन्त, कुटुम्ब र नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने एउटा पवित्र पर्व पनि हो। अर्को कुरा, संसारमा सिर्जना भएका वा जन्म लिएका सबै जीवनको बीचमा सम्बन्ध जोडिएको हुन्छ र कुनै एकको विनाश भएमा त्यसको असर सबैलाई पर्छ भने सन्देश जितियाले दिन्छ।
जितियासम्बन्धी माथि उल्लिखित कथामा आमा र सन्तानबीचको घनिष्टता पनि उल्लेख छ। त्यस्तै कुनै पनि काम विधि पुर्याएर गरेमा अवश्य पनि सफलता हात पर्छ भन्ने सन्देश यस पर्वले दिनेछ। कथाको अर्को पक्ष हो, यो जगत्मा सबैसँग मिलेर बस्नुपर्छ र सबै वनस्पति र प्राणीको सम्मान गर्नुपर्छ।
अझ महत्ववपूर्ण कुरा, कसैले पनि केही कुरामा घमण्ड गर्नु हुँदैन किनकि यस संसारमा वीरभन्दा पनि वीर छन्। जितिया पर्वको पौराणिक कालमा जति महत्वव थियो, आज पनि उत्तिकै छ। तपाईंहामी अरू कसैलाई नहराईकन हार्दिक र आरोग्य जीवन जितिरहौं। आफू पनि जितौं र अरूलाई पनि जिताऔं।
(जितिया पर्व कथाको पौराणिक महत्वबारे देश सञ्चारका वरिष्ठ उपसम्पादक सहदेव चौधरीले थारु संस्कृतिविद् भुलाई चौधरीसँग गरेको कुराकानीमा आधारित)