
विर्तामोड- पाँच करोड रुपैयाँको लगानीमा प्रदेश नम्बर एकमा सडक दुर्घटना न्यूनीकरण महाअभियान शुरुवात भएको छ।
सहारा नेपालको संयोजनमा सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत प्रदेशका नम्बर एकका मुख्य शहरहरुमा दुर्घटना न्यूनीकरणका लागि अभियान चलाइने विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सहारा नेपालसहित १० भन्दा बढी संघसंस्थाले प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन भएको सडक महाअभियान संयोजक महेन्द्र गिरीले बताए।
बिभिन्न चार चरणमा अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। महाअभियान अन्तर्गत यही मंसिर ४ गते चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको प्रस्तुती हुने जनाइएको छ।
महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा राडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक गिरीले जानकारी दिए।
तेस्रो चरणमा आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ । नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समीक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए ।
कार्यक्रमको चौथो चरणमा बिर्तामोडसहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, ईटहरी, धरान लगायतमा ट्राफिक लाईट जडान गरिनेछ।
ट्राफिक लाईट जडान गर्न ३ करोड ६० लाख, नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतीका लागि ५० लाख ट्राफिक नियम सचेतनाका लागि २० लाख, ट्राफिक प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरण ७० लाख गरि जम्मा ५ करोड रुपैयाँ लागतका अभियान सञ्चानल गरिने अध्यक्ष गिरीले जानकारी दिए ।