
सुर्खेत – पानीपुरी खाएपछि सुर्खेतमा एकै गाउँका ४४ जना बिरामी परेका छन्। भेरीगंगा नगरपालिका वडा नम्बर–२ का ४४ जनाभन्दा बढी महिला तथा बालबालिका बिरामी परेका हुन्। पानीपुरी खाएपछि उनीहरू बिरामी परेको जनाइएको छ।
बिरामीहरुलाई वान्ता हुने, ज्वरो आउने, पेट दुख्ने, मुर्छा पर्नेजस्ता लक्षण देखिएको छ। स्थानीय मेडिकलहरुमा उपचार हुन नसकेपछि बिरामीहरूलाई थप उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीका अनुसार बिरामीमध्ये ६ जना गम्भीर बिरामी भएका छन्।
बिरामीहरुले ठेलामा राखेर ल्याइएको पानीपुरी खाएपछि एकाएक वान्ता हुने, ज्वरो आउने र मुर्छा पर्ने लगायतका लक्षण देखा परेका बताएका छन्।
पानीपुरी खानेहरु धमाधम बिरामी पर्न थालेपछि प्रहरीले पानिपुरी बेच्ने जयराम खड्कालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए। खड्कामाथि थप अनुसन्धान भइरहेको छ।
क्षेत्रीय अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई कर्णाली प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले भेटेका छन्।