
बिर्तामोड – जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको अनुगमन टोलीले बिर्तामोडको खाद्य बजार अनुगमन गर्दा जताततै फोहोर पाएको छ। तर, फोहोर गर्नेलाई कारबाही गर्ने चेतावनी बाहेक अन्य केही गर्न सकेन।
सोमबार जिल्ला प्रशासन कार्यालय, बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित टोलीले बिर्तामोडको खाद्य बजार अनुगमन गरेको हो।
टोलीले बिर्तामोड कृषिथोक बजारको मासु तथा माछा पसल, सब्जी पसल, फलफूल पसल, होटलहरुको अनुगमन गरेको थियो।
त्यसक्रममा अधिकांश पसलमा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको थियो। अधिकांशले खसीको मासु तथा माछा जाली तथा सिसायुक्त बाकस बिनै खुल्लारुपमा बिक्री–वितरण गरिरहेको पाइएको थियो।
त्यस्तै बासी मासु फ्रिजमा राखेर बिक्री गर्ने गरिएको पाइएको छ। खसी तथा कुखुरा काट्ने ठाउँ अत्यन्त फोहोर भएको, त्यहाँ प्रयोग गरिएको पानी र अन्य फोहोरले बजार नै दुर्गन्धित भएको पाइएको छ।
त्यस्तै भारतबाट आयातीत विषादियुक्त सयपत्री फूल समेत बिक्री भइरहेको भेटिएको छ। सब्जी पसलहरुमा मनपरी खुद्रा मूल्य राखेर बिक्री गर्ने गरिएको पाइएको छ।
होटलहरुको सरसफाई पनि अत्यन्त दयनीय रहेको टोलीले भेटेको छ। खाद्यपदार्थ तथा पकाउने भाडाहरु नछोपी राखिएको, तेललाई वर्षौदेखि पुनः प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको समेत पाइएको छ।
टोलीले उपभोक्ता अधिकारलाई ध्यानमा राखेर मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री–वितरणका लागि व्यवसायीलाई सचेत गराएको छ। टोलीले तीन दर्जनभन्दा बढी पसल तथा होटलको अनुगमन गरेको थियो।
सरसफाई, मूल्य लगायतका विषयमा मापदण्ड पालना नगर्नेलाई तत्काल कारवाही गर्ने टोलीले जनाएको छ। कारबाही गर्ने चेतावनीपछि अनुगमन टोली बाटो लागेको थियो।