
हुँदा खानेका सन्तानलाई खुशी दशैं तिहारमा छ
हुने खानेलाई पो खुशी किसिम किसिम बजारमा छ
छोरी भन्छे यसपाली त हाम्रो पनि दशैं है बा !
खसी किन्ने पैसा आयो ठूलो दाजु कतारमा छ
शिक्षाले मन जोड्छ भन्थे किन बढाईरा’छ दूरी
आमाको मन छोरा माथी छोराको मन पीआरमा छ
प्रवास बसौं देशको चिन्ता देशमै बसौं भविष्यको
एउटा भा’को यो मन पनि हिजोआज दोधारमा छ
पुतली भै’ उडेपछि सन्देश दिन्छन् झुसिल्किरा
धैर्यताको बाँध नफुटाऊ स्वर्ग यही संसारमा छ।