
पोखरा – नेपालकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा २७ लाख पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगिता आजदेखी हुन लागेको हो ।
प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स प्रतिष्पर्धामा छन् ।
पहिलो दिन एक खेल भएपनि दोश्रो दिनदेखी दैनिक दुई खेल हुने आयोजकले जनाएको छ । दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लाष्टरबीच खेल हुनेछ भने दोस्रो खेल एक्सपर्ट धनगढी ब्लुज र काठमाडौँ रोयल्सबीच हुनेछ ।
पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदानलाई प्रतियोगिताका लागि ४० लाख खर्चेर नेपालकै उत्कृष्ट क्रिकेट मैदान बनाइएको छ । सो मैदानबाट कुमारी हिमाल माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृंखला प्रष्ट देखिन्छ ।
प्रिमियर लिगका लागि करिब चार हजार पाँच सय जनासम्म दर्शक अटाउने अस्थायी प्याराफिट बनाइएको छ ।
सर्वाधिक धनराशिको पिपिएलमा पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ वटा टिम सहभागी छन् ।