
विर्तामोड-गत कात्तिक ५ गते सोमबार घाँस काट्न जाँदा लडेर अनुहारमा हँसिया वारपार भएकी ८ वर्षीया बालिकाले नयाँ जीवन पाएकी छिन्।
झापाको दमक नगरपालिका २ की बालिका अन्सु गिरी दशैंमा टीका लगाउन मोरङको पथरी शनिश्चरे नगरपालिका ३ स्थित मावल घर गएका बेला घाँस काट्न भनेर हँसिया लिएर खेतमा जाँदा चिप्लिएर लड्दा हँसिया उनको अनुहारमा वारपार भएको थियो।
उपचार पश्चात उनी अहिले पहिलाकै अवस्थामा छिन्। उनी राम्ररी देख्न सक्छिन्। उनको शल्यक्रिया विएन्डसी अस्पतालका नाक, कान घाँटी सर्जन डा. धीरज गिरी नेतृत्वको टोलीले गरेको थियो।
उनलाई हँसियासहित अस्पताल ल्याइएको थियो। चाँडो अस्पताल आइपुगेको हुनाले उपचार संभव भएको चिकित्सक गिरीले बताए। उनले भने, ‘यस्तो जटिल अवस्थामा चाँडो अस्पताल पुग्नसके मात्र उपचार सम्भव हुन्छ।’
छोरीले नयाँ जीवन पाएकोमा खुशी व्यक्त गर्दै उनकी आमा विमलाले चिकित्सक तथा अस्पताललाई धन्यवाद दिएकी छिन्।