
पोखरा- शुक्रबारदेखि सुरु भएको टि–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टन विजयी भएको छ। विराटनगर टाइटन्सविरुद्धको खेलमा पोखराले ५८ रनले जीत हात पारेको हो।
टस हारेर ब्याटिङ पाएको पोखरा पल्टनले सबै ओभर खेलेर ३ विकेट गुमाउँदै १ सय ९७ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो।
पोखरा पल्टनका ललित राजवंशीले ३ विकेट लिए। कृष्ण कार्की, महबुब आलम, शरद भेस्वाकर, विक्रम भुसाल, रसिद खानले एक–एक विकेट लिए।
विराटनगर टाइटन्स खेलको सुरुवातमै कमजोर देखियो। ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरी ६ बलमा १० र सुनिल धमला ८ बलमा ११ रन बनाएर पेभिलियन फर्किए। जितेन्द्र ठकुरीले पनि ११ बलमा १० रन मात्रै जोडे।
राजु रिजालले २७ बलमा ३०, एन्ड्रिउ सुबिक्सनले १२ बलमा १४, राजेश पुलामीले ११ बलमा ७, पुष्प थापाले २६ बलमा ३० र जितेन्द्र मुखियाले ४ बलमा ६ रन बनाए। सन्दीप लामिछानेले १५ बलमा १४ रन जोड्दै नट आउट रहे। दीपेश श्रेष्ठले बल फेस गर्न नपाई नटआउट रहे।
विराटनगरका सन्दीप लामिछानेले २ र साहब आलमले १ विकेट लिए। पोखरा पल्टनका लागि कुशल भुर्तेलले २६ बलमा ३८ रन बनाए भने आशिफ शेखले ५४ बलमा ५२ रन बनाए।
रविइन्दर सिंहले २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतमा ४४ रन बनाए। विनोद भण्डारीले ११ बलमा ५ छक्का र २ चौका हान्दै ४१ रन जोडे भने शरद भेस्वाकरले ४ बलमा ७ रन जोड्दै नट आउट खेलेका छन्।