
पोखरा – पोखरामा २८ जनालाई डेंगुको संक्रमण भएको भेटिएको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा २८ जनामा डेंगुको संक्रमण भेटिएको हो । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले डेंगुको संक्रमण रहेको पुष्टि गरेको हो ।
२८ मध्ये २५ जना पोखरा महानगर–८ का मात्रै छन् । उनीहरू सबैको पोखरा र काठमाडौँका विभिन्न अस्पतालहरु गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, फेवासिटी, पार्कल्याण्ड हस्पिटल र केहीको काठमाडौँस्थित पाटन शिक्षण अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।
उनले लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान चलाएको बताए । उनले विशेषगरी डेंगु रोग असोज र कात्तिक महिना बढी भेटिने गरेकाले पनि रोकथामका लागि अभियान चलाएको बताए ।
उनले भने ‘डेंगुका लामखुट्टेले दिउँसोमा टोक्छ र सफा पानीमा फुल पार्दछ, त्यसैले पानीलाई छोपरे राख्नु पर्दछ ।’ उनले पोखरामा भेटिएका डेंगुका बिरामीहरु अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखिएको बताए ।
उनले काठमाडौँमा टेस्ट गरिएको तीनजनामा भने डेंगुका कडाखालको संक्रमण भेटिएको बताए । गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुङ्गनाका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलन्छ । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके रोग सर्ने गर्दछ । लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि १४ दिनसम्म लाग्न सक्छ ।
पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिने उनले बताए । यस्तोमा रुघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ । दोस्रोपटक भने फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्न सक्ने बताए ।