
पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका खोरको मुखमा एक बृद्धाको हत्या भएको छ । कात्तिक ११ गते राति माछापुच्छ्रे गाउँपालिका ८ खोरकोमुखकी ७९ वर्षकी कौशिला गुरुङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बृद्धालाई राति उनकै कोठामा ढुङ्गाले हानेर हत्या गरिएको देखिएको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा ढुङ्गाले हानेर हत्या गरेको देखिन्छ’ रानाले भने ‘बृद्धाले लगाएका सुनका गहनाका लागि हत्या भएको देखिन्छ ।’ बृद्धाले लगाएको दुईवटा सुनका बाला र सिक्री भेटिएको छैन ।
उनी जेठा छोरासँग बस्दै आएकी थिइन् । कात्तिक १० गते जेठा छोरा दिदीको घरमा धान काट्न गएकाले आइतबार राति उनी घरमा एक्लै थिइन् ।
छोरा १२ गते दिउँसो घर आएपछि आमाको खोजी गरेका थिए । घरको ढोकामा बाहिरबाट ताल्चा लगाएको देखेपछि उनले आमालाई फोन गरेका थिए तर फोन घर भित्र नै बजेपछि भ्यालबाट हेर्दा आमा मृत अवस्थामा भेटिएकी थिइन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्न छिटै पत्ता लाग्ने एसपी रानाले जानकारी दिए ।