
बिर्तामोड – राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आइतबार झापाका दमक र अर्जुनधारा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाका नगरसभाबाट नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
दमक र अर्जुनधारामा महागुरु फाल्गुनन्दका अनुयायीहरु धेरै भएकाले र उनी समाज सुधारक भएकाले बिदा दिने निर्णय गरिएको नगरपालिकाका पदाधिकारीहरुले जनाएका छन्।
फाल्गुनन्दको जन्म विक्रम् सम्बत् १९४२ कात्तिक २५ गते आइतबारका दिन इलामको इभाङ–५ मा भएको थियो।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार तथा संस्कृतिको संरक्षणका निमित्त लागिरहे। उनले देशद्रोहको अभियोग पनि खेप्न परेको थियो।
वि.सं. २००५ सालमा फाल्गुनन्दको देहान्त भएपछि किराँत धर्मसँग सम्बन्धित संघ–संस्थाहरूले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउँदै आएका छन्।