सुर्खेत-कर्णालीमा कार्यरत पत्रकारहरुको सुरक्षा प्रदेश सरकारले गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताएका छन। पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्दै जीवन सुरक्षाका लागि प्रदेश सरकारले प्राथमिकता दिने उनले प्रतिवद्धता जनाए।
‘पत्रकारहरुको पेशा र व्यवसायको ग्यारेन्टी सरकारले गर्छ, यहाँहरु सरकारलाई रचनात्मक सुझाव र भ्रष्ट्राचारविरुद्ध शसक्त भएर लाग्नुहोस्’ उनले भने,‘ पत्रकारको स्वास्थ्य उपचारदेखि जीवनविमासमेत प्रदेश सरकारले दिने तयारी थालिएको छ।’
राज्यको चौंथो अंगका रुपमा लिइएको पत्रकारिता पेशाको संरक्षण र पत्रकारको हितमा सरकारले काम गर्ने उनले बताए । पत्रकारहरुको स्वास्थ्य वीमा सम्वन्धि आवश्यक कार्यविधि तयार भइरहेको भन्दै उनले पेशाको सम्मानका लागि एक लाख राशी बराबरको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने निती सरकारले लिएको बताए ।
‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘समाजप्रतिको जवाफदेहीता निर्वाह गर्दा पत्रकारको जीवन सुरक्षा गर्नु राज्यको दायित्व हुन आउँछ, प्रदेश सरकारले पत्रकारहरुलाई असुरक्षित भएको महसुश हुन दिने छैन्।’
मन्त्री भण्डारीले कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारीतामा आर्कषण गर्ने सरकार लागिपर्ने बताए। ‘कर्णालीका पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आर्कषित गर्छौं’ मन्त्री भण्डारीले भने, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ, त्यति जोखिम छ।’
उनले पत्रकारहरुको सुरक्षाका लागि कानून मन्त्रालयले ‘पत्रकार स्वास्थ्य विमा’को व्यवस्था गर्न लागेको जानकारी दिए। ‘हामी पत्रकारहरुको स्वास्थ्य विमाको व्यवस्था गर्दैछौँ, करिब–करिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य विमामा सामेल हुन तपाईहरुलाई अपिल गर्छौँ ।’ स्वास्थ्य विमा कार्यक्रमले पत्रकारहरुलाई केही हद्सम्म भएपनि सुरक्षाको प्रत्याभुति हुने उनले बताए।
अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था द्वन्द्वकालमा थुप्रै पत्रकारहरुले ज्यान गुमाउनुको प्रतिफल भएको बताउँदै मन्त्री भण्डारीले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिती, भ्रष्टाचार अन्त्य गर्नुमा पत्रकाहरुको ठूलो भूमिका रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोटिङ गर्दा पत्रकारहरु जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन्।
नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकार पहल गर्नुपर्ने बताए।
‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































