सुर्खेत – संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान अनुरुप सरकारले सबै काम गर्न नसकेको बताएका छन्। संघीयताको पूर्ण कार्यान्वयन आउन नसकेकाले सरकारले काम गर्न नसकेको बताएका हुन्।
‘राजनीतिक क्षेत्रमा संघीयता कार्यान्वयन भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा पूर्ण रुपमा कार्यान्वयनमा भएको छैन,’ मंगलबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘सरकारको काम कारबाही ढिलो हुनुमा संघीयता अनुरुपका सबै संरचनाहरु निर्माण नहुनु हो।’
पोखरेलले आवश्यक कानून र संरचनाहरूको व्यवस्थापन र परिचालन बिना संघीयता पूर्ण रुपमा गति लिन नसक्ने बताए। ‘लामो समयपछि जनप्रतिनिधि आउनु र संरचना नबनेका कारण सरकारको काममा ढिलाई देखिएको हो,’ उनले भने।
संरचना नभएकै कारण प्रदेश सरकारको अधिकार केन्द्र सरकारले थन्क्याएको जस्तो देखिएको टिप्पणी गर्दै पोखरेलले केन्द्रदेखि प्रदेशसम्म संरचना नभएकै कारण प्रदेशले पनि पूर्ण अधिकार नपाएको बताए।
पार्टी एकीकरणका सन्दर्भमा उनले प्रदेश र जिल्लास्तरमा छिट्टै टुंगो लगाइने बताए। ‘केन्द्रमा सबै टुंगो लागिसक्यो, प्रदेश र जिल्लाको प्रक्रियामा छ,’ उनले भने, ‘आन्तरिक समस्या समाधान गरी छिट्टै सबै तहसम्म पार्टीको एकीकरण टुंगो लाग्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































