सुर्खेत– वीरेन्द्रनगरका व्यवसायी रमेश खड्काले नयाँ बस किनेर सञ्चालनमा ल्याएको एक हप्ता भयो। उनले ९० लाख रूपैयाँमा भारतबाट ल्याएको गाडी बसपार्कभित्र पार्किङ्ग गर्न समेत पाएका छैनन् । सडक किनारमै बस पार्किंग गर्नुपर्ने बाध्यता रहेको उनको बताए।
स्थानीय मंगलगढी चौक स्थित अस्थायी रूपमा सञ्चालनमा आएको बसपार्क साँघुरो छ । सवारीका साधनहरूको संख्या बढ्दै गएपछि बसपार्क साँघुरो बन्दै गएको छ । यातायात व्यवसाय सञ्चालन गरिरहेका प्रालीहरू पनि बढ्दै छन् । ‘नयाँ बस सञ्चालन त गरियो तर, बसपार्क भित्र लियो भने मोड्नै मिल्दैन’ उनले भने,‘साँघुरो बसपार्कले ठूला गाडी पार्किङ्ग त परै हो, यात्रु चढाउनसमेत मिलेको छैन ।’
बसपार्क साँघुरो हुँदा गाडी धनिहरूले आफ्नो घर, सडक छेउँछाउँमा राख्नुपर्ने बाध्यता छ । बसपार्कमा गाडी पार्किङ्ग गर्ने ठाउँ नहुँदा असुरक्षा बढेको उनले बताए । सडक सञ्जाल विस्तार भएसँगै व्यवसायीहरूले सुर्खेतदेखि ग्रामिण क्षेत्रसम्म बसहरू सञ्चालित छन् । बर्षेनी व्यवसायीहरूले सुविधा सम्पन्न र स्तरीय बसहरू सञ्चालनमा ल्याउदै आएका छन्।
देउती यातायात प्रालिमा आवद्ध भएका खड्कासहित ६ जना व्यवसायीले नयाँ बसहरू सञ्चालनमा ल्याएका छन । चालु आर्थिक वर्षमा मात्रै साना र ठूला गरि झण्डै ४५ वटा गाडीहरू थपिएका छन । संघीय संरचना अनुसार प्रादेशिक राजधानी भएपछि गाडीको चाँप ह्वात्तै बढेको छ । तर, पार्किङ्गका लागि पर्याप्त ठाउँ नहुँदा निकै समस्या भएको यातायात व्यवसायीहरू बताउँदै आएका छन् ।
निर्माणाधिन सिटीबसपार्क पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको लापरवाहीले पटक–पटक म्याद थप हुँदा पनि बसपार्क समयमा सञ्चालन हुन नसकेको आरोप यातायात व्यवसायीको छ । नगरपालिकाले प्रभावकारी अनुगमन नगर्दा बसपार्क निर्माण समयमा नभएको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले बताए ।
बसपार्क निर्माणको जिम्मा पाएको चाङमिला नरसिंह जेभीसँग सम्झौताअनुसार काम गर्न नसक्दा बसपार्क सञ्चालनमा आउने समय टरेको हो । असोजमा सञ्चालन गर्ने भनिएको बसपार्क मंसिर शुरु भइसक्दा समेत सञ्चालन हुन सकेको छैन । वि.सं. २०७३ सालमा ६ करोड ८३ लाख रूपैयाँमा उक्त कम्पनीले सिटी बसपार्क निर्माणको जिम्मा लिएको थियो।
सम्झौता अनुसार १५ महिनामा बसपार्क निर्माण गर्नुपर्ने थियो । तर, सम्झौता अनुसार काम नहुँदा निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । सिटी बसपार्कमा साना÷ठूला गरी एक सय १० बस अटाउने क्षमता छ।
सिटी बसपार्कमा टिकट काउन्टर, यात्रु बस्ने टर्मिनल, ५४ अस्थायी पसल, महिला तथा पुरुष शौचालय, दुईवटा प्रवेशद्वार, गाडी मर्मत गर्ने वर्कसप रहनेछन । विद्युत् जडान, ५० मिटर पर्खाल निर्माण, गार्डेन, रङरोगन तथा सेनिटरीको काम अझै बाँकी रहेको छ ।
पहिलो पटक ६ महिना म्याद थप गरेको कम्पनीले दोस्रो पटक एक वर्षको म्याद थपेको थियो । वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बसपार्क निर्माणको काम लगभग ९० प्रतिशत सकिएको बताए। समयमा बसपार्क निर्माण नहुँदा यातायात व्यवसायीले जथभावि रूपमा बसहरू पार्किङ्ग गर्नुपरेको छ । साँघुरो ठाउँमा बसपार्क सञ्चालन भइरहेकाले यात्रुले निकै हैरानी खेप्नु परेको छ।
हाल बसपार्कबाट ९ वटा यातायात प्रालीहरूले बस, फोर्स, हाइस, जीप, माइक्रो गाडीहरू सञ्चालन गरिरहेका छन । समितिहरूको तथ्यांक अनुसार पाँच सय भन्दा बढी गाडीहरू दैनिक रूपमा सञ्चालन हुने गरेका छन्।
सवारी साधनको चाँप बढेकाले दुर्घटनाको उच्च जोखिममा रहेको काँक्रेविहार यातायात समितिका सचिव सापकोटाले बताए । उनले चार लाइन सडक निर्माणका लागि मंगलगढी चौक भत्काउँदा गाडीहरू जथाभावि रूपमा सञ्चालन भइरहेको बताए । गाडीहरू पार्किङ्गका लागि निकै चुनौती खेप्नु परेको दुखेसो उनले पोखे ।

भर्खरै
लोकप्रिय






































































































































































































