सुर्खेत – भारतीय लेखक शिव खेडाले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘यू क्यान वीन’मा भनेका छन्, ‘सफल मानिसले फरक काम गर्दैन, फरक तरिकाले गर्छ।’ हो, इन्टरनेटको यो दुनियाँमा फरक तरिकाले सोच्न सके के गर्न सम्भव छैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् सुर्खेतका दर्पण खरालले।
यूट्यूबको सदुुपयोग गरेर यी युवाले कार बनाएका छन्। मोटरसाइकलको इञ्जिन प्रयोग गरी सुर्खेतको पञ्चपुरी नगरपालिका–९ विद्यापुरका दर्पणले कार गुडाएका हुन्। कक्षा १० मा अध्यनरत दर्पणले कारको नाम ‘बग्गी’ दिएका छन्।
‘यूट्युब हेर्दै, सामग्री जोड्दै कार बनाउने प्रयास गरेँ,’ दर्पणले देश सञ्चारसँग भने, ‘आगामी दिनमा सबैको सहयोग पाएमा प्यारामोटर (उड्ने गाडी) बनाउने योजना छ।’
खरालले निर्माण गरेको कार प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरे। बाल्यकालदेखि नै प्रविधिमा चासो राख्ने दर्पणले यसअघि पनि विभिन्न सामग्री निर्माण गरेको बताएका छन्।

केही महिनाअघि रिमोट कन्ट्रोलर कार, अटो अनअफ लाइट (रातिमा आफैँ बल्ने र दिउँसोमा आफैँ निभ्ने बत्ती) र पानीको उचाई नाप्ने यन्त्र बनाएका थिए। ग्यारेजले फालिएका सामान र सुर्खेतस्थित विद्युतीय सामग्री पाइने मानिकेज पसलबाट सामान ल्याएर काम बनाएको जानकारी दिए। ३ लाख रुपैयाँ लागतमा निर्माण भएको कार दुई सिटको छ। त्यसको पछाडि पट्टी जोडेपछि ५ सिटसम्म राख्न सकिने छ।

मोटरसाइकलका इञ्जिनहरु, पुराना टायरहरु, फलामका सामग्रीहरु प्रयोग गरिएर निर्माण गरिएको कारले पूर्ण आकार पाइसकेको छैन। पुरानो मोटरसाइकलको इञ्जिनमा अन्य सामग्री जडान गरेर कारको निर्माण गरेका उनले सबै इञ्जिन नेपालमै उपलब्ध भए ११ लाखमै कार निर्माण गर्न सकिने दाबी गरे।
मन्त्री बुढाले दर्पणजस्ता क्षमतावान प्रतिभालाई सरकारले प्रोत्साहन गर्ने बताए। उनले उक्त कार प्रदेश सरकारले खरीद गर्ने बताए। ‘कार निर्माणमा लागेको मूल्य प्रदेश सरकारले संग्रहालयमा राख्छ,’ मन्त्री बुढाले भने, ‘सफल परीक्षणपछि प्रदेश सरकारले दर्पणलाई सहयोग गर्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































