अस्पतालबाट दुर्गादेवीको प्रधानमन्त्रीलाई प्रश्न

‘प्रधानमन्त्रीज्यू, निर्मलाका अपराधी खोज्‍ने वाचा किन पूरा गरेनौ?’

+
-

काठमाडौ- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसिसियुको शैय्यामा यज्ञराज एकोहोरो बर्बराइरहेका छन्, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बुवा। बाँया खुट्टाको एउटा औंला ‘फ्याक्चर’ भएको छ। शरीर दुब्लाउँदै गएको छ। ओठमुख सुकेका छन्। बेसुरमा बोल्छन् उनी। त्यो बेसुर आवाजमा एउटा प्रश्न भने दोहोरिरहन्छ, ‘निर्मलाको हत्यारा खै?’ सँगै टोलाएर बस्छिन् उनकी पत्नी दूर्गादेवी। भित्रबाहिर गर्छिन् बेलाबेलामा उनी। छट्पट्टी र बेचैनीमा उनको दैनिकी बित्दै छ। निर्मलाका हत्यारालाई सरकारले पहिचान गर्न नसक्नुको पीडाले भारी भएको उनको मन श्रीमान यज्ञराजको असामान्य स्वास्थ्य अवस्थाले झनै कुँडिएको छ। आग्रह र पुुकार गर्दागर्दा उनी गलिसकिन्। वास्तवमा उनका आँखाहरु न्यायको लडाइँले थकित देखिन्छन्। उनी सोमबार देशसञ्चारसँग आफ्ना पीडा पोख्न तयार भइन्। कुराकानीका क्रममा उनले न्याय माग्दामाग्दै बिरामी परेका पतिको चिन्ता, डरदेखि प्रधानमन्त्री केपी ओलीका वाचा पुरा नभएकोमा निराशासँगै आक्रोश समेत व्यक्त गरेकी छन्। साथै प्राण रहुञ्जेल न्यायका लागि लडिरहने दृढता पनि व्यक्त गरिन्।

धर्नाले नै श्रीमानलाई अस्पताल पुर्‍यायाे  

मेरो ज्यान त धानेकै छु बल्तल्ल। स्वास्थ्य ठिकै छ मन थाकेपनि। तर श्रीमान (यज्ञराज) को अवस्था बिग्रियो। छोरी निर्मलाको बलात्कारसँगै हत्या भएको चार महिना बित्यो। अपराधीलाई कठघरामा उभ्याउने काम भएन। हामीले अनेकौँ सघंर्ष गर्‍यौँ। अपराधी पत्ता लाग्ने संकेत मिलेन। श्रीमान कमजोर भइसक्नु भएको रहेछ।

अधिकारकर्मीलाई त्यो थाहा नभएको हुनसक्छ। २४ गते अचानक बैठक बस्यो। त्यहाँ श्रीमान आफैले न्याय नपाउञ्जेल म यहाँबाट उठ्दिन भन्नुभयो। त्यसपछि उहाँलाई धर्ना बस्ने व्यवस्था मिलाइदिनु भयो अधिकारकर्मीहरुले। कार्तिक २५ गते पत्रकार सम्मेलन गरेर श्रीमान २४ सै घण्टा धर्ना बस्न थाल्नु भयो ।

म दिउँसो धर्नामा जान्थेँ। छोरीहरुको बिजोक नहोस् भन्ने चिन्ता थियो। तर श्रीमान बिरामी पर्न थाल्नु भयो लामो धर्नाले । उहाँ राति पनि चिसोमा जागै बस्नुभयो। समयमा खाना पनि भएन। हुन त अधिकारकर्मीहरुले हेर्नु नै भएको थियो। तर पनि उहाँको निन्द्रा हराउन थाल्यो। उहाँलाई भेट्न धेरै जानु भयो।

सबैले राम्रै सोचेर सम्झाउनु भयो होला त्यो बेला श्रीमानको दिमागको स्थिति कमजोर बन्यो। आफूलाई सम्हाल्न सक्नु भएन। विस्तारै अनौठो व्यवहार गर्न थाल्नु भयो। उपचारका लागि अस्पताल पुर्‍याइयो।

काठमाडौँ ल्याउन इन्जेक्सन लगाउँदा


धनगढी सेती अञ्चल अस्पतालबाट श्रीमानलाई इन्जेक्सन लगाएर बेहोसी अवस्थामा गाडीमा हालेर यहाँ ल्याइएको हो। उहाँ एकदमै सिकिस्त भइसक्नु भएको थियो। उहाँलाई इन्जेक्सन नलगाएको भए यहाँ ल्याउने अवस्था पनि थिएन।

उहाँलाई सम्हाल्न पाँच मिनेट पनि हामीले सक्दैन थियौँ। यति लामो बाटो भएर ल्याउन सक्ने कुरा धेरै परको थियो। तर सबैको सहयोगमा उहाँलाई यहाँ ल्याइएको छ। उपचार सुरु भएको छ।

सामान्य बोलीले राहत दिन्छ तर ढुक्क छैन मन


उपचार सुरु भएपछि अलिकति राहत भएको छ। आएदेखिनै औषधि दिन थालेकाले अलि फरक देखिनु भएको छ हिजोअस्ति भन्दा। आज मसँग पनि अलि होस आए जसरी कुरा गर्नु भयो। बच्चालाई घरमा गाह्रो भयो होला तिमी घर गए पनि हुन्छ यहाँ भाइ छ भन्नु भयो। हिजोअस्ति त मलाई पनि देख्न चाहनु भएको थिएन।

अब केही सुधार हुन्छ कि भन्ने आशा पलाएको छ तर ढुक्क छैन। मैले हरेस खाइसकेको थिएँ। जतापनि कुद्ने, जे पनि बोल्ने र जो आएपनि शंंका गर्ने व्यवहार गर्नु हुन्थ्यो। केही सुधार हुन्छ कि भन्ने आशा लागेको छ।

तर यो समस्या घरमा फर्केपछि ब्युँतियो भने हामी दुई जना महिला र छोरीहरुको हालत के होला? हामीले उहाँलाई यस्तो अवस्थामा सम्हाल्न सक्ने छैनौँ।

अब दुई लडाइँ सम्भव होला नहोला


छोरीको न्यायको लडाइँ एकातिर छ। यस्तो अवस्थामा श्रीमानको स्वास्थ्य सुधारको लडाइँ पनि सुरु गर्नु पर्‍यो मैले। निन्द्रा हरायो। मन एकोहोरो भइरहेको छ। यस्तो बेला श्रीमान बिरामी हुँदा हामीले झनै असुरक्षित महशुस गरेका छौँ ।

अहिले घरमा एक्लै छोरीहरुलाई छोडेर आएको छु। मन त्यहाँ पनि पुगेको छ। म पनि श्रीमानको जस्तै अवस्थामा पुग्न बेर छैन। छोरीहरु के गर्लान्? घरपरिवार विहिन हुने अवस्थाको कसरी सामना गर्ने? त्यसैले पूर्णरुपमा ठिक नभएसम्म उहाँलाई घर लग्ने कुरा हुन्न।

साथ र आश्‍वासन सबैको तर न्याय पाएनौँ


सरकारले अनुसन्धान जारी छ मात्रै भन्छ। सबैले साथ दिएका छौँ पनि भन्नु भएको छ। सबैबाट आश्वासन पनि पाएका छौँ तर न्याय पाएनौँ। न्यायमा जति ढिलो हुँदै छ त्यति मन कमजोर हुँदैछ। मेरी छोरीका प्रमाणहरु कस्तो अवस्थामा थिए मैले हेर्न पाइन। प्रमाण मेटिएपछि मैले देखे।

मेरो जानकारीमा साउन १० गते मेरी छोरी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी थिइन्। अघिपछि छोरीलाई बेलैमा खोज्थे। त्यो दिन अलि धेरै पढेर आउने होला भन्ने लाग्यो तर रात पर्दै जादा मन चिसो हुँदै गयो। रोशनी बमले निर्मला गइसकी मात्रै भनिन्। मेरो छोरीको हत्यामा उनको संलग्नता छ या छैन थाहा हुन सकेन।

तर उनको भनाइले उनी आफैँ यो घटनामा संलग्न भएको बुझिन्छ, तैपनि पुष्टि गरिएन। पुष्टि गर्न सरकारले चाहेन, या देखाउन सकेन त्यो उनै जानुन्। मान्छे चिनेको भए मैले प्रत्यक्ष किटानी जारी गर्थेँ।

प्रहरीले आफ्नो कर्तव्य पालना गर्दै गरेन


प्रहरीले सुरुदेखि नै प्रमाण मेटिदियो। छोरीको लास जलाउनु भन्दा पहिले नै कपडा जलाइयो। त्यो कपडा देखाउने प्रहरी को हो? प्रहरीकै लापरवाहीले गर्दा हत्यारा पत्ता लाग्न ढिलो भयो। उनीहरुले गर्नु पर्ने कर्तव्य नै गरेनन्। छोरी भनेर हेपे।

अरु अपराधी किन छिटो पत्ता लाग्छन्? मेरो छोरीलाई त्यसरी मार्नेलाई किन समात्न सकिएन? किन प्रमाणहरु सिलबन्दी गरिएन। मेरो खुुसी त मेटियो नै प्रमाण पनि मेटियो। कति बोलौँ म? बोल्दाबोल्दा थाकिसकेँ। दिमाग नै खिइने अवस्थामा पुगेको छ। पैसा या राहत भनेको त सरकारले तोकेको कुरा हो। हामीलाई पैसा हैन न्याय चाहिएको हो ।

घरबारविहिन बनाएपछि हामीलाई सम्हाल्ने दायित्व सरकारकै हो। मेरो छोरीको दुर्लभ अवस्था भोग्नु परेको छ। घरको घार श्रीमानको अवस्था नाजुक छ । डर छ। चिन्ता छ । बाँचेपनि यस्तो दुर्लभ समस्याले कसरी हामीलाई बचाउला र?

निर्मलापछि पनि अरु छोरी किन भए बलात्कृत ?


छोरी मेरो गयो। संसार नै छुट्यो। इच्छा भए मेरी छोरीको अपराधी सरकारले भेटाउन सक्थ्यो। तर वास्ता गरेन। मेरो छोरीको न्यायका लागि यतिबेला देशभरका छोरीहरु भौतारिएका छन्, कराइरहेका छन् र सडकमा उत्रिएका छन्। उहाँहरुले धेरै नै दुःख पाउनु भएको छ।

मेरो छोरी गुमेपनि अरु छोरीहरुको सुुरक्षाका लागि सरकारले किन केही नगरेको हो ? कुन कानुन बनाएर हुन्छ छोरीलाई सुरक्षित गराउने कर्तव्य कसको हो? निर्मलापछि पनि अरु छोरी किन भए बलात्कृत?

निर्मलापछि अर्को अपराध हुन दिनु हुन्थे नि त। त्यो रोक्ने काम त सरकारको थियो। किन बलात्कार बढेको छ? रक्सी बेचेर हो की खाएर हो कि?

प्रधानमन्त्रीले बाचा मात्रै गरे अपराधी समातेनन्



प्रधानमन्त्रीले हामीसँग गरेको बाचा पूरा भएको भए त सबैले देखिहाल्नु हुन्थ्यो। छोरीको अपराधी खोज्छु भन्नु भएको थियो उहाँले । निर्मला मेरी पनि छोरी हुन् भन्नु भएको थियो उहाँले। त्यतिमात्रै होइन।

उहाँले पानी मुनि भएपनि अपराधीलाई हामी निकाल्छौँ भन्नु भएको थियो। खै ? उहाँले अपराधी पत्ता लगाइदिएको भए हामीलाई यसरी भौँतारिनु पर्थ्यो र? अनशन बसेर अर्को मान्छेको ज्यान जोखिममा हाल्न पर्थेन नि?

प्रधानमन्त्री निस्कृय भएको देख्दा झनै दुःख


अरुबाट त आशा कमै गर्न सकिन्छ अपराधी पत्ता लगाउन। तर प्रधानमन्त्रीले समेत अपराधी पत्ता लगाउन सक्रियता देखाउनु भएन। खै किन हो ? सुरु देखि कसले गल्ती गरेको छ, त्यो किन पत्ता लगाउन नसकेको हो?

अन्य नेताहरुले पनि आश्वासन दिनु भएको छ न्यायका लागि। तर खै हामीले आश गर्न सक्ने ठाउँ भेटेका छैनौँ। भर्खरै पूर्वप्रधानमन्त्री आउनु भयो। यस्तै आशा पहिले पनि देखाउनु भएको थियो ।

छोरीको न्यायका लागि हाम्रो ज्यान जोखिममा छ। हाम्रो मनस्थिति बिग्रने अवस्था आइसकेको छ। सरकार गम्भीर हुनु पर्छ। हामी कति भौँतारिने न्यायका लागि। तर प्राण रहुञ्जेल न्यायका लागि लडिरहने छौँ।

भिडियो हेर्नुहोस्:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?