
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै समृद्धि हासिल हुने बताएका छन्।
पोखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोबाइल मेला २०७५ को उद्घाटन गर्दै अब निजी क्षेत्रको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गरेका हुन्।
गुरुङले उत्पादित सामानको बजारीकरण गरेर आर्थिक चलायमान गर्न निजि क्षेत्रको नै भूमिका हुने बताए। उनले भने, ‘यहाँ जुत्ता उत्पादन गरेर बेच्ने काम सरकारको होइन, यो त निजी क्षेत्र र कतिपय अवस्थामा सहकारीले गर्नुपर्छ।’
प्रदेश सरकार उद्योग स्थापना र सञ्चालनका लागि वातावरण बनाउन तयार रहेको बताउँदै उनले उद्योग व्यवसायका लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्वार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न तयार रहेको गुरुङले बताएका छन्।
मुख्यमन्त्रीले प्रदेश सरकारले लगानीको वातावरण बनाउने जनाउँदै ठूला परियोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु सञ्चालनमा आइसकेकाले अब विकास निर्माणका कामले गति लिने उनको दावी थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामजश्यको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर समृद्धि हासिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताएका छन्।
यसैबीच, नयाँ बजारको प्रदर्शनी केन्द्रमा आयोजित एक्स्पो मंसिर २४ गतेसम्म जारी रहने छ। उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिर्जना गर्न एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ।
एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोबाइल र मोबाइलका सामानहरु, पर्यटन प्रवर्द्धनात्मक स्टल, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन्।