सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि खटेर काम गर्नुपर्ने बताएका छन्। कागज मिलाएर मात्रै विकास देखाउने र बजेट खर्चिने प्रवृतिले कर्णाली प्रदेशको चाहेअनुसारको विकास नहुने बताएका हुन्।
‘कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता छ,’ शाहीले भने, ‘एशियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्यो, पेपर वर्क र अफिस वर्कले कर्णालीले चाहेको विकासको गतिमा समृद्धि सम्भव छैन।’
परम्परागत शैलीको योजना निर्माण गर्दा विकास नभएको जनाउँदै शाहीले विकास गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने बताए। कर्णालीको विकासका लागि द्रूतमार्गको प्रयोग अपरिहार्य भएको उनले बताए।
‘ठूलो रकम लगानी भएपनि परिणाम देखिएको छैन,’ शाहीले भने, ‘अबको लगानी प्रदेश सरकारले प्राथमिकताका क्षेत्र निर्धारण गरेर गर्छ, नेता र पहुँचको आधारमा टुुक्रे योजनामा होइन, कर्णालीको समृद्धिमा हुनुपर्छ।’
पहिलो चरणमा कर्णाली प्रदेशको पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको उनले बताए। ‘फाष्ट ट्रयाकबाट कर्णालीको विकास र आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना छ। सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्यो। योजना आयोगले परियोजना बैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सूचि निर्धारण गर्छ,’ उनले भने।
एसियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको छलफल तथा परामर्श कार्यक्रममा शाहीले देखिनेगरी पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































