(भारतीय महिला बक्सर मेरी कोम १८ वर्षकी थिइन् जतिबेला उनले विश्व च्याम्पियनसिपमा पहिलोपटक सहभागी हुँदै रजत पदक जितिन्।
सन् २००७ मा जुम्ल्याहा सन्तानलाई जन्म दिनुअघि कोम तीन पटक विश्व च्याम्पियन बनिसकेकी थिइन्। आमा बनेको अर्को वर्ष पुन विश्व च्याम्पियन बनिन्। लन्डन ओलम्पिक खेलकुदमा कास्य जितेको अर्को वर्ष सन् २०१३ मा कोमले तेस्रो सन्तान जन्माइन्। तीन सन्तानकी यी आमा ३५ वर्षको उमेरमा यसै वर्ष पुन अर्कोपटक विश्व च्याम्पियन बनिन्। विश्व बक्सिङ इतिहासमा उनी सर्वाधिक स्वर्ण (६) र सर्वाधिक पदक (७) जित्ने खेलाडी बनेकी छन्। कोमले कहिलेसम्म खेल्छिन् यकिन छैन।
बेल्जियमकी किम क्लाइज्टर्सले सन् २००५ मा पहिलोपटक ग्रान्डस्लाम टेनिस उपाधि जितिन्। गर्भवती भएपछि सन् २००७ मा सन्यास लिइन्। त्यसको एक वर्षपछि पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिइन्। सन् २००९ मै कोर्टमा फर्किइन् र त्यस वर्ष यूएस ओपन ग्रान्डस्लाम जितेर तहल्का पिटिन्। ग्रान्डस्लाम टेनिस इतिहासमा त्यसअघि सन् १९८० मा मात्र आमा खेलाडीले उपाधि जितेका थिए। उक्त सफलता एभोन गुलागोङको नाममा थियो। सन् १९७७ मा आमा बनेकी गुलागोङ त्यसको तीन वर्षपछि विम्बल्डन जित्न सफल भएकी थिइन्। ग्रान्डस्लाम टेनिस इतिहासमा केवल तीन जना आमा खेलाडीमात्र च्याम्पियन बनेका छन्। क्लाइज्टर्सले सन् २०१० र २०११ मा पनि ग्रान्डस्लाम उपाधि जितिन्।
गर्भवती अवस्थामा सेरेना विलियम्सले सन् २०१७ को जनवरीमा अस्ट्रेलियन ओपन जितेकी थिइन्। त्यस वर्षको सेप्टेम्बरमा उनले पहिलो सन्तानका रुपमा छोरी जन्माइन्। आमा बनेको ६ महिना पनि बित्न नपाउँदै उनले फ्रेन्च ओपनमार्फत कोर्टमा पुनरागमनको प्रयास गरिन्। तर चौथो चरणबाटै बाहिरिन्। सेरेना विम्बल्डनमा पनि सहभागी भइन्, यसपटक फाइनलसम्म पुगिन्। वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनमा पनि सेरेनाको यात्रा फाइनलसम्म पुग्यो। ग्रान्डस्लाम इतिहासमा आमा खेलाडीका रुपमा उपाधि जित्ने चौथो खेलाडी बन्ने सेरेनाको सपना पूरा हुन बाँकी नै छ। ३७ वर्षको उमेरमा पनि सेरेनाको जोश र स्टामिना अझै उस्तै छ। सबैभन्दा बढी उमेरमा ग्रान्डस्लाम जित्ने महिला खेलाडीका रुपमा दुई वर्षअघि सेरेनाको नाममा कीर्तिमान बनिसकेको छ। १७ वर्षको हुँदा पहिलोपटक ग्रान्डस्लाम जितेकी यी अमेरिकी खेलाडी हालसम्म २३ पटक एकल ग्रान्डस्लाम उपाधि जितेकी छिन् र सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान बराबरी गर्नबाट एउटा उपाधिले मात्र पछाडि छिन्। बक्सिङ, लन टेनिसजस्तो शारिरिक मेहनत पर्ने खेलमा कोम र सेरेनाहरु निरन्तर विश्व खेलकुदलाई आश्चर्यमा पारिरहेका छन्। यस्ता खेलमा खेलाडीका सामान्य उमेरहद र आमा बनेपछि खेल्न गाह्रो हुन्छ भन्ने आम बुझाइलाई उनीहरु पुनर्परिभाषित गर्नुपर्नेस्तरमा चुनौती दिइरहेका छन्। समग्र खेलकुदमा दक्षिण एसियामै पछाडि रहेको र व्यवसायिक रुपमा कमजोर रहेको नेपालमा कुनै महिला खेलाडीले ३५/३६ वर्षको उमेरसम्म निरन्तर खेल्ने अपेक्षा के ब्यावहारिक छ ? अझ आमा बनिसकेपछि पनि खेलाडीले यहाँ खेलाडी जीवनलाई निरन्तरता दिन सम्भव होला ? )
…
उनी हरेक बिहान ५ बज्दा उठिसकेकी हुन्छिन्। नुहाइदुहाइ सकेर पूजा पाठ गर्छिन् अनि ठूलो छोरालाई ब्रेकफास्ट तयार गरी स्कुल पठाउँछिन्। त्यतिबेलासम्म सानो छोरा उठिसकेको हुन्छ। खाना पकाएर उसलाई स्कुल पठाउन हतार हुन्छ।
स्कुल जानु अघि सानो छोरा मुस्कुराउँदै भन्छ- मम्मी आज पनि जितेर आउनुस् है ! छोराको कुरा सुनेर उनको बिहानी थकान मेटिन्छ। यसले उनलाई उर्जा दिन्छ, जितिरहन प्रेरित गर्छ। उनी प्राय आफ्नोबारे खेलाडीदेखि दर्शकसम्मले भनेको सुन्छिन्- यो उमेरमा पूजा श्रेष्ठको जोश, जाँगर कसरी, कहाँबाट आउँछ? एउटा ठुलो जमात आश्चर्यता व्यक्त गर्छ- हैन यो पूजाले कहिलेसम्म खेल्छे? धेरैले पूजालाई अगाडि आएरै सोध्छन्। खेल्नु एउटा कुरा अनि राम्रो खेल्नु अर्को कुरा। अझ राम्रो खेलेर सबैलाई हराउनु बेग्लै कुरा!
केही साताअघि राजधानीमा सम्पन्न पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा पूजाले जेशिका गुरुङसँग मिलेर महिला युगलको उपाधि जितिन्। समकालीन महिला ब्याडमिन्टनमा एकल स्पर्धाका निकै सशक्त मानिने नङ्शल तामाङ र रशिला महर्जनको जोडीलाई २१-१३ र २१-१४ को सोझो सेटमा हराएर पूजाको जोडी विजेता बन्यो। यो केवल एउटा घटना थिएन। ३९ वसन्त टेक्दासम्म पूजाले नेपाली ब्याडमिन्टनमा बिताएको करिब २५ वर्ष भयो। उनी हरेक घरेलु प्रतियोगितामा खाली हात फर्कनु परेको छैन। बढ्दो उमेर र दुई सन्तानसहित परिवारको स्याहार सुसारबीच पनि पूजा निरन्तर खेलिरहेकी छिन्, निरन्तर जितिरहेकी छिन्।
‘हामी हरेक दिन प्राक्टिसमा जुसको बाजी खेल्छौँ। जितेको जुस प्राय बेलुका सानो छोरालाई राखिदिएको हुन्छ। मम्मीले जितेको जुस भन्दै ऊ मख्ख पर्छ’, ३९ वर्षे पूजा श्रेष्ठको खुसी अनुहारमा छछल्किन्छ। मेडल र ट्रफी जितेर ल्याएको दिन सानो छोरा त्यसलाई लिएर घरभित्र घुमिरहन्छ। ‘मम्मीले जितेर ल्याएको मेडल’ भन्दै खुसी भएर दौडिँदा पारिवारिक माहोल नै बेग्लै बन्छ, उल्लासमय हुन्छ। पूजालाई जीवनमा कति पदक जितेँ, यकिन छैन। हुन पनि धापासीस्थित घरको भुईँतला कोठामा पूजाले जितेका मेडल असरल्ल देखिन्छन्। ‘कहाँ यतिमात्र हुनु, माथि कोठामा पनि धेरै (पदक र ट्रफी) छन्’, पूजा भन्छिन्।
पूजा नेपाली ब्याडमिन्टनकी कीर्तिमानी खेलाडी हुन्। उनी एकल स्पर्धामा सबैभन्दा धेरैपटक राष्ट्रिय च्याम्पियन (५ पटक) हुने महिला ब्याडमिन्टन खेलाडी हुन्। यसबाहेक अन्य उल्लेखनीय सफलताका गाथा पनि उनका नाममा छन्। भन्छिन्, ‘मलाई हार कहिल्यै मन परेन। तर जित्न असाध्यै मेहनत गर्नुपर्छ भन्ने पनि थाहा थियो। अभ्यास नै किन नहोस् अहिले पनि जित्नैपर्छ भन्ने तरिकाले खेल्छु।’
छोराछोरीलाई स्कुल पठाएपछि हरेक दिन पूजा दुई घन्टा जति अभ्यास गर्छिन्। अनि श्रीमानको काठ उद्याेग पुगेर काममा सघाउँछिन्। यही दैनिकीबीच पनि उनलाई पदक जित्न गाह्रो छैन। गत साता सहकर्मी प्रभात खनाल र म धापासीस्थित घर पुग्दा पूजा श्रीमान र सानो छोरासहित हामीलाई कुरिरहेकी थिइन्। कुराकानीकै क्रममा सात कक्षामा अध्ययनरत ठुला छोरा पनि त्यहाँ मिसिए। पूजालाई मेरो पहिलो जिज्ञासा थियो- दिदी अब कहिलेसम्म खेल्ने? मेरो प्रश्न पूरा पनि हुन पाएन। ‘ सकुन्जेल खेल्छु’, पूजाको सटिक जवाफ थियो।
ब्याडमिन्टनमा लागेर उनले कति गुमाइन्, हिसाब कहिल्यै गरिनन् र त्यो अब उनलाई गर्न पनि मन छैन। यसैमा लागेकाले उनलाई सबैले चिने। यही खेलबाट जीवन साथी पाइन्। ‘खेल्न छाड्न गाह्रो हुने रहेछ’, उनले फेरि दोहोर्याइन्,’ पछिसम्म खेलिरहन्छु। जतिसक्दो खेल्छु।’
त्यो मोटी केटीको च्यालेन्ज
२०५२ सालमा काठमाडौमा अल नेपाल इन्टर स्कुल ब्याडमिन्टन च्याम्पियनसिप हुँदै थियो। विराटनगरमा उत्तम सिंखडा ‘भैया गुरु’ खेलाडी खोज्दै पूजा पढ्ने स्कुलमा आए। भैया गुरुले प्रतियोगिताबारे बताए। खेलकुदमा रुचि भएकी पूजाले त्यहीँबाट र्याकेट समात्ने निर्णय गरिन्। भैया गुरुले औँला समातेर पूजालाई कोर्टमा हिँड्न सिकाए। सिकाउनेले पनि मिहेनत गरे, अनि सिक्नेले पनि खुबै परिश्रम।
काठमाडौँमा खेल्न आउँदा पूजाले कसैले भैया गुरुलाई भनेको सुनिन्- यस्तो गैँडाजस्तो खेलाडीलाई किन लिएर आएको? यसले पनि खेल्न सक्छ र? यो सुनेर पूजाले ती ‘अंकल’सँग च्यालेन्ज गरिन्- अंकल म दुई तीन वर्षमा नेपालको नम्बर १ खेलाडी बनेर देखाइ दिन्छु।’ पूजाले त्यस प्रतियोगिता जितेर सबैलाई छक्क पारिन्। पुरस्कारबापत पाएको २० हजार रुपैयाँले ब्याडमिन्टनमा थप मिहेनत गर्न उनलाई उर्जा बन्यो।
२०५५ सालमा भएको राष्ट्रिय च्याम्पियनसिपमा त्यही मोटी केटी राष्ट्रिय च्याम्पियन बनिन् र तीन वर्षअघिको वाचा पुरा गरिन्। ‘मेरो खेल जीवनको सबैभन्दा खुसीको दिन नै त्यही थियो। वास्तवमा भैया गुरुले हामीमाथी निकै मेहनत गर्नु भएको थियो। मैले जे जति सिँके उहाँबाटै सिकेँ। मोटी भएपनि म धेरै फिट थिएँ। मेरो स्ट्रोक यति पावरफुल थियो कि सबैलाई पच्काइ दिन्छुजस्तो हुन्थ्यो’, पूजा पुराना दिन सम्झन्छिन्। घरेलु ब्याडमिन्टनमा सरादेवी तामाङ, सुमिना श्रेष्ठजस्ता अब्बल खेलाडीहरुको जमातमा पूजाले अाफूलाई प्राय ‘विजेता’ बनाइन्। ०६०/६१ सालतिर पूजा र सुमिनाको जोडीले पाकिस्तान इन्टरनेशनल सिरिजमा महिला युगलतर्फ रजत पदक जितेर नेपालको अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा इतिहास रचेको थियो। ‘ हामी ट्रेन र गाडी हुँदै राती पाकिस्तान पुगेका थियाैँ। भोलिपल्ट नै मेरो खेल थियो। त्यो खेल मैले जितेँ। सबै छक्क परे। पछि थाहा पाएँ, मैले हराएको खेलाडी त पाकिस्तानको नम्बर एक रहेछ’, पूजालाई याद ताजै छ।
०६३ सालमा जेठो छोरा अनुभव जन्मियो। तर उनले कोर्ट छाड्न सकिनन्। विजेता बन्नेक्रम पनि रोकिएन। धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा विजेता बनेर एकल स्पर्धामा भिड्न छाड्ने उनको योजना थियो। फाइनलमा पनि पुगिन्। तर यसपटक उनी हारिन्। ‘यो सोच्दै नसोचेको हार थियो। त्यसको अघिल्लो दिन राती मैले मेरो घरको छत झरेर किचेको सपना देखेको थिएँ। पहिलो सेट मैले राम्रोसँग जितेको थिएँ। दोस्रो सेट खेल्दैगर्दा मलाई त्यही सपना अचानक याद आयो। त्यसपछि मेरो जिउ नै नचलेजस्तो भयो। के के हुँदै छ भन्नेसमेत दिमागले चाल पाएन’ पूजा भन्छिन्।
एकल स्पर्धामा छैटौँपटक राष्ट्रिय च्याम्पियन बन्ने उनको सपना अधुरै रह्यो। उनी सन्यासको मनस्थितिमा पुगिन्। नेपाल ब्याडमिन्टन संघका तत्कालीन महासचिव (अहिलेका अध्यक्ष) रामजी श्रेष्ठले ‘तिमीजस्तो खेलाडीले खेल्न छाड्यौ भने राम्रो खेलाडीको अभाव हुन्छ। केही वर्ष खेल्देउ’ भन्ने आग्रह गरेपछि परिवर्तन भएको पूजाको सोच अहिले आएर त्यस्तै छ जुन आजभन्दा २०/२२ वर्षअघि थियो- म जो आएपनि राम्रो खेल्न सक्छु। अचेल उनलाई खेलाडीहरु नै ‘तपाई किन एकल स्पर्धामा भिड्नु हुँदैन’ भन्दै प्रश्न गर्छन्। भन्छिन्, ‘ अहिले पनि पनि म एकल स्पर्धामा कम्तीमा सेमिफाइनलसम्म पुग्छुजस्तो लाग्छ। तर अब छाडिसकेको कुरामा सोचेर पनि भएन।’
तपाईँले जित्नु बिडम्बना हैन ? ‘त्यसो नभन्नू न’
कुनै खेलाडी ३९ वर्षको उमेरमा पनि च्याम्पियन बन्न सक्नु त्यस खेलाडीको मेहनत र क्षमताको विषय अवश्य हो। तर ब्याडमिन्टनजस्तो स्किलसँगै ‘उमेर र स्टामिना’ले अर्थ राख्ने खेलमा ‘ओभर एज्ड’ खेलाडी हावी हुनुको सम्बन्ध अवश्य पनि त्यस खेलमा नयाँ खेलाडीको क्षमतासँग रहन्छ। नेपाली ब्याडमिन्टनमा युगलमै भए पनि पूजाको लगातार बलियो उपस्थितिलाई लिएर हामीले उनको प्रतिक्रिया बुझ्न खोज्यौँ ।
‘३८/३९ वर्षको खेलाडी विजेता बनिरहनु त समग्र खेल विकाशका लागि विडम्बना हैन र ?’ भन्ने प्रश्नमा पूजा ‘त्यसो नभन्नुस न। हामी कम्ता मिहेनत गरेर यहाँसम्म आईपुगेको हो र’ भन्दै केहीबेर रोकिइन्। तुलानात्मकरुपमा पहिला भन्दा राम्रो अवस्थामा भए पनि खेलाडीको मिहेनत अहिले कम भएको पूजाको बुझाइ छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निरन्तर सहभागिता, नगद पुरस्कारसहितका धेरै घरेलु प्रतियोगिता र राम्रा खेलाडीलाई खानेबस्नेको सुबिधा भएपनि खासगरि महिला खेलाडीमा मिहेनतको स्तर कम भएको पूजा बताउँछिन्।
‘अन्य कारणहरु पनि होलान। तर अहिलेका खेलाडीको बुद्धी धेरै छ। दिमाग धेरै छ। उनिहरु खेलभन्दा पनि बाहिर बाहिर दिमाग लगाउँछन्। हाम्रो पालामा मिहेनत गर्नुपर्छ,राम्रो खेल्नुपर्छ, नम्बर एक बन्नुपर्छ भन्ने मात्र हुन्थ्यो’, पूजाको अनुभव छ। पूजाकै भनाइमा उनले पर्याप्त अवसरहरु पाइनन्। भाग्छे भनेर चिन, जर्मनी लगायत देशमा हुने वैदेशिक प्रशिक्षणमा समेत उनलाई पठाइएन।
‘यदि मैले यस्ता अवसरहरु पाएको भए पक्कै पनि कम्तिमा दक्षिण एसियाली खेलकुद-सागमा एकल स्पर्धातर्फ पदक ल्याउँथे होला। तर मेरो दुर्भाग्य के भने सागमा जहिल्यै क्वाटरफाइनलमा मेरो प्रतिस्पर्धा भारतीय खेलाडीसँग पर्थ्यो। मसँग प्रशस्त क्षमता छ भन्ने बुझ्नेहरुले राम्रो बनाउनुपर्छ भनेर सोचि दिएको भए सायद अझ माथि पुग्थेँ’, पूजाको गुनासो छ।
खेल र करियरको घनचक्कर
पूजा राम्रो पारिवारिक वातावरणमा हुर्किइन्। अहिले दिदी डाक्टर छिन् भने दाइले पनि स्नात्तकोत्तरसम्म पढेर आफ्नै व्यवसाय गरिरहेका छन्। पूजालाई पनि पढ्नुपर्छ भन्ने लाग्थ्यो। पहिलोपटक राष्ट्रिय च्याम्पियन भएपछि उनी भारततर्फ लागिन् अध्ययनका लागि। त्यहाँ उनले होटल म्यानेजमेन्टमा स्नातक गरिन्। एक वर्ष ओबराय होटलमा काम पनि गरिन्।
०६० सालमा नेपाल फर्किएपछि पूजाले राजधानीकै एक चर्चित होटलमा जागिरका लागि आवेदन दिइन्। यो कुरा शसस्त्र प्रहरी बल-एपिएफका उच्च अधिकारीहरुले थाहा पाएर पूजालाई आफ्नो क्लबमा आबद्ध भएर खेलिदिन प्रस्ताव गरे। भन्छिन्, ‘मैले आवेदन दिएको होटलमा मासिक १० हजार तलब थियो । मलाई १५ हजार दिन्छौँ क्लबबाट खेलिदेउ भनेपछि मैले नाई भन्न सँकिन।’
पछि एपिएफमै प्रहरी निरीक्षक-इन्सपेक्टरमा भिड्न पनि उनलाई सुझाव दिइएको थियो। तर माओवादी जनयुद्ध उत्कर्षमा पुगेकाले उनले त्यसतर्फ आँट गर्न सकिनन्। खेलिरहिन्, समय फुत्किरह्यो। उनलाई अरु कोही पनि यस खेलमा नलागोस् भन्ने भन्ने लाग्थ्यो र अहिले पनि लागि रहन्छ। त्यसैले उनलाई प्रशिक्षक बन्न कहिल्यै मन लागेन।
‘करियर नै छैन ब्याडमिन्टनमा। विभागीय क्लबमा सिपाही र परिचरको जागिर पाएमा हामी त्यसलाई करियर भन्नुपर्ने अवस्था छ। देशका लागि नाम राख्ने र नाम चिनाउने खेलाडीको हैसियत सिपाही र परिचर बन्नेमात्र हो त ? हामीले खेलाडीलाई करियर दिन सक्नुपर्छ। जसरी अहिले नंशलले बैंकमा जागिर पाएको छ त्यसरी नै अन्य खेलाडीलाई आकर्षक ठाउँहरुमा लगाउन सक्यौँ भने यस खेलमा आकर्षण बन्छ ‘, पूजाको आक्रोश छ।
पूजाका श्रीमान राजिव दाहाल पनि पूर्व ब्याडमिन्टन खेलाडी हुन्। केही वर्ष ब्याडमिन्टन खेलेका विराटनगरका राजिव त्यसपछि व्यवसायमा लागेका थिए। पूजाका प्राय खेलमा राजिव हुटिङ गर्न पुग्छन्। कतिपय खेलमा उनी प्रशिक्षक बनेर देखिन्छन्। कहिले काहीँ श्रीमान श्रीमतीबीच मजाक हुन्छ। राजिव भन्छन्- तिमीले यत्रो वर्ष खेलेर के पायौ ? पूजाको छोटो जवाफ हुन्छ- नाम कमाएँ नि, दाम त तपाईँले दिनु भएकै छ नि। केहीबेर दुवै जना मुसुमुसु हाँस्छन्। पूजा भन्छिन्- नभएको कुरामा पिर मान्नुपनि त भएन।
खेलको माया त्यति सजिलै कहाँ टाढा हुन सक्छ र? कान्छो छोरा आर्नभलाई ब्याडमिन्टन खेलाडी बनाउने इच्छा पूजाको छ। ‘उसले र्याकेटको ग्रिप मज्जाले लिन्छ। बाबुआमाको गुण सर्या होला’, पूजाको कुरा सुनेर नजिकै रहेका आर्नभ मुस्काउँछन्। छोरालाई खेलाडी बनाउने विषयमा पनि राजीव र पूजाबीच मजाक चलिरहन्छ। पूजाको योजना सुन्ने बित्तिकै राजीव भन्ने गर्छन्- खेलाडी बनाएर जीवनभर हाफ पेन्टमा कुदाउने होला।’ फेरि दुवैजना मुसुमुसु हाँस्छन्।
र, त्यो दुखद् दिन
सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनका खेलहरु काँकडभिट्टामा हुँदै थिए। पूजा पनि एपिएफ टोलीबाट खेल्दै थिइन्। टाइ सिटको विषयमा विवाद भयो। निकालेको टाइसिट फेर्न खोजेको भन्दै पूजाले असन्तुष्टि जनाइन्।
टाइ सेट फेरिए आफू नखेल्ने चेतावनी पूजाको थियो। तर विवादमा ब्याडमिन्टन संघका पदाधिकारी हावी भए। विवाद समाधानका लागि साँझ संघका अध्यक्ष रामजी श्रेष्ठले पुजालाई बैठकमा बोलाए। विवाद बढ्दै गएपछि संघका एक पदाधिकारीले ‘ को हो पूजा श्रेष्ठ ? म कोही पूजा श्रेष्ठ चिन्दिन भन्दिए।’
एकछिन सुनसान भयो। त्यसपछि पूजाले ‘पाँचपटकको राष्ट्रिय च्याम्पियन पूजा श्रेष्ठलाई तपाईँहरु चिन्नुहुन्न भने भोलि कसलाई चिन्नुहुन्छ’ भन्दै प्रतिप्रश्न गरिन्। उल्टै पूजालाई सम्झाउने प्रयास भयो। होटल फर्किएपछि पूजा निकैबेर रोइन्। पुजा सम्झन्छिन्, ‘ब्याडमिन्टनमा लागेर निकै चित्त दुखेको दिन त्यही थियो सायद।’