योगी आदित्यनाथले करिब ६ घण्टा जनकपुरधाममा बिताए विवाहपञ्चमीको दिन। नेपाल–भारत सम्बन्धमा सांस्कृतिक पक्षको महत्व स्थापित गर्नु उनको यात्राको घोषित उद्देश्य थियो, यद्यपि यत्तिमा मात्र सीमित थिएनन् उनी। त्यसमा भारतीय संस्थापनले दुई पक्षीय सम्बन्धमा कठिनाइ आउँदा लिने गरेका अडानभन्दा फरक अर्थ लाग्ने सन्देश पनि अन्तरनिहित थिए। अर्को सन् २००५ यता भारतीय संस्थापन खासगरी तत्कालीन विदेश सचिव श्याम शरणले पश्चिमी शक्तिसँग मिली नेपाली जनतालाई ‘बाइपास’ गरी गणतन्त्र र धर्म निरपेक्षता लाद्न वातावरण बनाउने क्रममा उनीहरुद्वारा सबैभन्दा बढी खलनायकीकरण गरेका भारतीय पात्र योगी आदित्यनाथको बदलिएको हैसियतले दुई पक्षीय सम्बन्धको अर्को आयामले महत्व पाएको स्पष्ट थियो। अर्थात् त्यसबेला प्रस्तुत गरिए जसरी योगी दुई पक्षीय सम्बन्ध र नेपालमा लोकतन्त्रका खलनायक नभएर दुईपक्षीय सम्बन्धका सेतुका रुपमा औपचारिक रुपमा जनकपुर आएका थिए उनी, प्रधानमन्त्री नरेन्द्र मोदी र योगीकै शब्दमा भारतीय जनताका सांस्कृतिक प्रतिनिधि बनेर।
पक्कै पनि हाल उत्तर प्रदेशका मुख्यमन्त्री र भारतीय जनता पार्टीमा महत्वपूर्ण हैसियत राख्ने योगी आदित्यनाथ त्यहाँको राजनीतिमा ठूलो प्रभाव राख्छन्। उनी विवादास्पद पनि छन् र त्यो स्वयं उनलाई भन्दा बढी अरुलाई थाहा छैन। उनको नेपाल यात्रा राजनीतिक रुपमा भाजपाले भोगेको एउटा प्रतिकूल चरणमा सम्पन्न भएको थियो। भारतका पाँच राज्य मध्य प्रदेश, छत्तीसगढ र राजस्थानसँगै तेलंगना र मिजोरमका प्रान्तीय निर्वाचन सबैमा भाजपा पराजित भएको थियो। अघिल्ला तीन प्रान्तमा त योगीको पार्टीले आफ्नो सरकार कांग्रेसलाई सुम्पन बाध्य भएको अवस्था थियो निर्वाचन परिणामपछि। यी नतिजालाई कतिले आगामी ५ महिनाभित्र सम्पन्न हुनुपर्ने लोकसभा निर्वाचनको अग्रिम संकेत मानेका छन् भने कतिले पार्टी संगठन र सरकारमा आवश्यक फेरबदल गरी जनमुखी बन्न मोदी–अमित शाह जोडीलाई आएको चेतावनीयुक्त सन्देश मानेका छन्।
योगीको भ्रमणमा नेपाली राजनीति (ज्ञ) को द्वैध– चरित्र स्पष्ट देखिन्थ्यो। राजसंस्था र हिन्दु नेपालको वकालत गरेको आरोपका साथ उनको यात्रा रोक्नु पर्ने अभिव्यक्ति जारी गरेका कांग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि योगीको स्वागतका लागि रामजानकी मन्दिरमा अग्रपंक्तिमा थिए। नेपाल र १२ बुँदे राजनीतिका सन्दर्भमा श्याम सरण–पश्चिमा साँठगाँठ सञ्जालबाट राजनीतिक र त्योसँग जोडिएका फाइदा पाउनेहरुमा पर्दछन् निधि।
त्यस्तै राष्ट्रिय जनता पार्टिका महन्थ ठाकुर योगीको सम्मानमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले दिएको दिवाभोजमा सम्मिलित हुन पुगेका थिए, ‘लो प्रोफाइल’ मा। श्यामशरण लबीले २००५–०६ को उसको रणनीतिक अवधारणा अन्तर्गत योगीका आशिर्वाद प्राप्त र राजसंस्था तथा हिन्दु नेपालका पक्षधरका रुपमा प्रचारित र हाल केपी ओली सरकारमा उप–प्रधानमन्त्री उपेन्द्र यादवले योगी यात्रा छले, तर छोरालाई त्यहाँ पठाउन र पार्टी अध्यक्षका रुपमा आफूले मुख्यमन्त्री राउतलाई यथेष्ट स्वागतका लागि निर्देशन दिएको सन्देश योगी समक्ष पुर्याउन बिर्सेनन्। छोटकरीमा, गोप्य या नदेखिने गरी योगीको स्वागत सबैले गरे पनि धर्म निरपेक्षताको आवरणका कारण सकेसम्म सार्वजनिक रुपमा नदेखिन हरेक प्रयास गरे उनीहरुले। नेपाली राजनीतिज्ञहरुको द्वैध चरित्र स्पष्ट देखिन्थ्यो त्यहाँ।
मुख्यमन्त्री रावत र ‘जनकपुरका मेयर’ को औपचारिक संलग्नतामा योगीलाई भित्र्याइयो। तर स्थानीय प्रशासनले मध्यराति (आगमनको अघिल्लो दिन) उनका विभिन्न कार्यक्रमहरु छोट्यायो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाह महोत्सव आयोजकहरुले निम्त्याउन चाहेनन्, प्रधानमन्त्री ओली स्वास्थ्यका कारण (र सम्भवतः प्रोटोकलका कारण पनि) नगए पनि उक्त महोत्सवमा उनले संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलाई सरकार र पार्टीका तर्फबाट हिन्दुधर्मप्रति झुकाव देखाउँदै आएकी सांसद कोमल वलीलाई खटाए।
योगी कुनै समयमा घोषित रुपमा नेपालका आराध्यदेव गुरु गोरखनाथ परम्पराका सर्वाेंच्च महन्थ हुन् भारतमा। नेपाल धर्म निरपेक्ष बनेपछि यहाँ २००६ को परिवर्तनको क्रममा सम्भवत गुरु गोरखनाथ र उनका दीक्षित शिष्य पृथ्वी नारायण शाहको ‘राष्ट निर्माता’ को हैसियत समेत खोसिएको छ। उनी नाथ अघोरी सम्प्रदायका हुन् र मान्यता अनुसार ‘अघोर पन्थ’ सनातनी हिन्दु परम्परामा अत्यन्त परोपकारी, सबैको पहुँचमा र मोक्षदायी मानिन्छ।
पौराणिक कथामा रामले धनुष भाँचेको ठाउँमा आई योगी आदित्यनाथले ‘रामवाण’ चलाएका मात्र हुन्, अयोध्या मार्फत भारतीय राजनीतिलाई लक्षित गरेर। र, मोदीले त्यसका लागि आफूभन्दा बढी योगी उपयुक्त हुने बुझेर उत्तरप्रदेशका मुख्यमन्त्रीलाई त्यहाँ पठाएको बुझ्न कठिन छैन।
राजनीतिक रुपमा गुरु गोरक्षनाथका सबभन्दा बढी राष्ट्राध्यक्षहरु शिष्य रहेको मानिन्छ। योगी आदित्यनाथले नेतृत्व गरेको गोरखनाथ मठका उनका पूर्ववर्ती दिग्विजयनाथले सन् १९४९ मा संगठित रुपमा अयोध्यामा रहेको बाबरी मस्जिद वास्तवमा रामजन्मभूमि भएको र त्यसमा मन्दिर निर्माण गर्नुपर्ने माग राखेका थिए। त्यसलाई वकालत गर्दै उनी उत्तर प्रदेश विधानसभा र पछि लोकसभामा निर्वाचित भए। उनको एजेन्डालाई उनका उत्तराधिकारी तथा योगी आदित्यनाथका गुरु महन्थ अवैद्यनाथले लगातार अगाडि बढाइरहे। उनी प्रदेश र संसदमा गरी आठपल्ट विजयी भए, धेरैजसो स्वतन्त्र उम्मेदवारका रुपमा। सन् १९८९ मा भारतीय जनता पार्टीले लालकृष्ण आडवाणीको नेतृत्वमा अयोध्यामा राम जन्मभूमि निर्माणलाई चुनावी र राजनीतिक एजेन्डा स्वीकारेपछिमात्र उनले भारतीय जनता पार्टीको उम्मेदवारका रुपमा चुनाव लडेका थिए। योगी आदित्यनाथ उनका दुई पूर्ववर्ती महन्थहरुकै राजनीतिक ‘लाइन’मा लागिपरेका छन्। अर्थात रामजन्मभूमि मन्दिर त्यस अर्थमा गोरखनाथ मठ (गोरखपुर) को निर्णायक एजेन्डा रहिआएको छ।
विवाह महोत्सवमा योगीको उपस्थितिले यसपल्ट भारतीय चुनावमा ‘राममन्दिर’ चर्कोरुपमा राजनीतिक एजेन्डा बन्ने संकेत दिएको छ। त्यो एजेन्डाको स्वीकार्यता र वैधानिकता बढेको विश्लेषण भाजपाभित्र छ, प्रान्तीय निर्वाचनका क्रममा र त्यसअघि प्रतिपक्षी नेता तथा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पटकपटक हिन्दु तीर्थ यात्रामा मात्र पुगेनन्, नियोजित रुपमा उनले आफूलाई ‘हिन्दु’ सावित गर्ने कोशिश पनि गरे। त्यसले दीर्घकालीन रुपमा भाजपाको एजेन्डालाई फाइदा पुर्याएकै छ। पौराणिक कथामा रामले धनुष भाँचेको ठाउँमा आई योगी आदित्यनाथले ‘रामवाण’ चलाएका मात्र हुन्, अयोध्या मार्फत भारतीय राजनीतिलाई लक्षित गरेर। र, मोदीले त्यसका लागि आफूभन्दा बढी योगी उपयुक्त हुने बुझेर उत्तरप्रदेशका मुख्यमन्त्रीलाई त्यहाँ पठाएको बुझ्न कठिन छैन।
नेपालमा ‘युनिफिकेसन चर्च’ सँग ओली सरकारको सहकार्य र उसको प्रभावमा नेपाल कम्युनिष्ट पार्टीदेखि नेपाली कांग्रेससम्म रहेको स्पष्ट देखियो एसिया प्यासिफिक शिखरको नांगो बचाउबाट। नेपाली कांग्रेसले विरोध गरेन। उता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले चर्चको यो कार्यक्रमले विदेशमा नेपालको हैसियत बढाएको दाबी गरे।
त्यो यथार्थ र ज्ञानबाट भन्दा प्रधानमन्त्री ओली तथा चर्चका कर्ताधर्ता माधव नेपालको अन्धबचाउबाट निर्देशित दाबी थियो। नेपाली राजनीतिमा विदेशी शक्ति, दाता र चर्चको प्रभाव १२ बुँदेले नै सुनिश्चित गरेको हो। त्यो बेलादेखि अहिलेसम्म आइपुग्दा विवादास्पद ‘युनिफिकेशन’ चर्च नेपालमा अरुभन्दा बढी प्रभावशाली मात्र हैन, नेताहरुको विकाउपनका कारण आफूलाई स्थापित गर्न सफल भएको छ।
योगीको १२ बुँदेका रचयिता र प्रशंसक टोलीबाट भएको विरोध र उनको भ्रमणमा प्रान्तीय र केन्द्रीय सरकारको उदासीनता एकातिर र चर्चद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति, उनले हात थापेको इनाम र स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरुलाई माता ‘मुन’ को आशिर्वाद थाप्न सरकार तथा सत्ताधारी पार्टीबाट जारी गरिएको उर्दीले सरकारले आफूलाई चर्चसँग जोडेको र परम्परादेखिको बहुसंख्यक सनातन धर्मलाई उपहास गरेको सन्देश गएको छ। सरकारको योगी र युनिफिकेशन चर्चप्रतिका परस्पर विरोधी व्यवहार भोलि धर्म निरपेक्षता र धर्म सापेक्षता सम्बन्धी बहसको केन्द्रमा रहनेछन् पक्कै पनि। आउने दिनमा यसले धार्मिक ध्रुवीकरणसँगै ‘नेकपा–कांग्रेस’ लाई ‘धर्म तथा संस्कृति’ बेचुवाको कित्तामा उभ्याउने रुपमा समेत बढाएको छ।
योगी भ्रमणले आगामी निर्वाचनमा ‘राम जन्मभूमि’मा मन्दिर निर्माणलाई एजेन्डाका रुपमा प्रस्तुत गरेको छ पक्कै पनि। त्यसैगरी नेपालको ‘धार्मिक ध्रुवीकरण’को सन्दर्भ भाजपाको आगामी राजनीति र नेपाल नीतिको महत्वपूर्ण हिस्सा पनि बन्ने छ निकै हदसम्म। योगी भ्रमणभन्दा बढी यूनिफिकेशन चर्च– ओली– एकनाथ ढकाल ‘नेक्सस’ ले त्यो प्रक्रियालाई तीव्रता दिएको छ।
भारतसँगै आफूले नकारात्मकरुपमा लिँदै आएको ‘यूनिफिकेशन चर्च’ तथा ‘रेबरेण्ड मून’ कल्टको नेपालमा आफूले नजिक मान्दै आएका कम्युनिष्ट नेताहरुमाथि ठूलो प्रभाव रहेको चीनले पनि नबुझ्ला भन्न सकिन्न।

भर्खरै
लोकप्रिय






































































































































































































