
काठमाडौं- पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी(आइएसपान)का अध्यक्ष भोजराज भट्टले शुक्रबार बसेको आइएसपानको बैठकले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको बताए।
उनले देश सञ्चारसग कुरा गर्दै भने, ‘१३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन भएन। गत साउनमा सरकारले इन्टरनेटको मूल्यमा समायोजन गर्ने भन्दै हामीलाई पटक सम्झौता गरेर झुक्यायो। अब हामीले मूल्य बढाउनु पर्ने बाध्यता आएको छ।’
अध्यक्ष भट्टले सेवा प्रदायक कम्पनीले सरकारलाई एक महिनाको अल्टिमेटम अझै दिने तर त्यो समयमा पनि सम्झौता कार्यान्वयन नभए इन्टरनेटमा प्रति ग्राहक एक हजार रुपैँया बढ्न सक्ने बताए। उनले भने, ‘ सरकार आफै सम्झौता गर्ने तर नटेर्ने, विद्युत प्राधिकरणले मूल्यवृद्धि नघटाए पुसदेखि प्रतिग्राहकले इन्टरनेटको मूल्यमा एक हजार रुपैँया तिर्नु पर्ने हुन सक्छ। ‘
उनले आइएसपानका तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा पत्र लेख्दै भनेका छन्, ‘‘मन्त्रीज्यू सम्झौताको मूल मर्म भनेको १३ प्रतिशत अतिरिक्त शुल्क पुरानै दररेटमा समायोजन गर्ने, इन्टरनेटको सेवा प्रदायकको माग सम्बोधन गरी शुल्क समायोजन गर्नको लागि नीतिगत सहयोग गर्ने, इन्टरनेट सेवा प्रदायकले पनि समायोजनामा योगदान गर्ने इन्टरनेट सेवामा मूल्य वृद्धि हुने गरी कुनै पनि सरकारी निकायले कामकारबाही नगर्न अनुरोध गर्ने नै थियो’, निवेदनमा भनिएको छ, ‘सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौँ।’