के तेस्रो नेत्र खुल्न सम्भव छ त?

के तेस्रो नेत्र खुल्न सम्भव छ त?
+
-

प्रत्येक बाबुआमाको कामना रहन्छ- आफ्ना सन्तानहरु अलौकिक क्षमतायुक्त होउन्। अहिलेका धेरैजसो बालबालिका मारमेल कमिक्सका सुपर हिरोहरु, सुपरम्यान, स्पाइडरम्यान, ब्याटम्यान आदिजस्ता अलौकिक क्षमतायुक्त हुने कल्पना पनि गर्दछन्। तर, वास्तविक दुनियाँमा यस्ता पात्रहरु नभए पनि अद्भूत बौद्धिक क्षमताका सुपरहिरोहरु यस विश्वमा नभएका चाहिँ होइनन्।

उदाहरणका निम्ति तन्मय बक्सीलाई लिन सकिन्छ। उनले पाँच वर्षको उमेरदेखि नै कम्प्युटर प्रोग्रामिङमा दक्षता हासिल गरिसकेका थिए। र, सात वर्षको उमेरमा त यु–ट्युवमा आफ्ना भिडियोहरु राखेका थिए। हालसालै गुगल कम्पनीले उनलाई आर्टिफिशियल इन्टेलीजेन्स विशेषज्ञका रुपमा झण्डै १२५ करोेड रुपैयाँको तलबमा जागिर पनि दिएको छ। त्यस्तै प्रकारले अमेरिकामा बस्ने भारतीय मूलका सोजस वाग्लेलाई पनि लिन सकिन्छ। उनले सन् २०१६ मा इन्टरनेसनल ब्रेन बी प्रतियोगिता जितेका थिए। उनी अमेरिकन संस्करण ‘को बन्छ करोडपति’ मा आफ्नो अद्भूत तर्कशक्तिको आधारमा २ लाख ५० हजार अमेरिकी डलर जिल्न सफल भएका थिए।

दुनियाँमा यस्ता क्षमतावान बालकहरु धेरै छन्। तर, प्रत्यक्षरुपले मानसिक क्षमता मापन गर्ने कुनै यन्त्र छैन। संसारभरि मानसिक क्षमता मापन गर्ने आइक्यू टेस्ट एउटा भरपर्दो र लोकप्रिय माध्यम हो। साधारणतया करिब ९५ प्रतिशत मानिसहरु ७० देखि १३० सम्मको आइक्यू स्कोर प्राप्त गर्न सक्छन् तर थोरै १–२% मानिसहरु मात्र १३० भन्दा बढी अंक हासिल गर्न सक्ने क्षमताका भेटिएका छन्। प्रख्यात बैज्ञानिक स्टेफन हकिङले १६० अंकको आइक्यू स्कोर हासिल गरेका थिए। भने अर्का प्रख्यात बैज्ञानिक अल्बर्टले झण्डै १९० आइक्यू स्कोर हासिल गरेका थिए। प्रख्यात चेस खेलाडी गैरी कास्पारोभले १९४ आइक्यू स्कोर हासिल गरेका थिए। सन् १९७५ जन्मेका टेरेन्स ताओले  उच्चतम् आइक्यू स्कोर २३० हासिल गरेको थिए।

उनले २० वर्षको उमेरमा नै गणितशास्त्रमा विद्यावारिधि गरेका थिए। उनले सन् २ ००६ को फिल्ड मेडल पनि जितेका थिए। फिल्ड मेडललाई गणितको नोबेल पुरस्कार मानिन्छ र यो प्रत्येक चार वर्षमा प्रदान गरिन्छ।

हुन त आइक्यू स्कोर मात्र कुनै व्यक्तिको बौद्धिकता नाप्ने कडी होइन। तर उच्चतम् आइक्यू स्कोर प्राप्त गर्ने व्यक्तिहरु सामान्य व्यक्तिहरुभन्दा केही हदसम्म फरक हुन्छन्।

संसारमा यस्ता धेरै उदाहरणहरु छन्, जसले सानै उमेरमा संसारलाई नै आफ्नो क्षमताको भरमा चकित बनाएका छन्। उदाहरणका लागि महान संगीतकार मोजार्टलाई लिन सकिन्छ। उनले ६ वर्षको उमेरमा नै संगीत रचना गरेका थिए।

यस्तै प्रकारले पाब्लो पिकासोले १५ वर्षकै उमेरमा अदभूत कलाको सिर्जना गरेको थिए। सन् १९३९ मा बेंगलोरमा जन्मेकी शकुन्तला देवी जस्लाई मानव कम्प्युटरको संज्ञा दिइएको थियो, उनी आफ्नो अद्भूत गणितीय क्षमताका कारण धेरैपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम राख्न सक्षम भएकी थिइन्।

अलौकिक व्यक्तिहरुमा के क्षमता हुन्छ? जो साधारण मनुष्यभन्दा फरक ढंगले प्रस्तुत हुन्छन्। उनीहरुको शरीरमा के यस्तो रसायन छ? जसले समान्य मानिसभन्दा बढी बौद्धिक क्षमता प्रस्तुत गर्न सक्छन्। के साँच्चै नै उनीहरुको तेस्रो नेत्र वा छैटौं इन्द्रिय अथवा आज्ञाचक्र खुलेको हो!  जस्ले गर्दा उनीहरु साधारण मनुष्यभन्दा फरक क्षमता प्रस्तुत गर्छन्। हामी पनि तेस्रो नेत्र खुल्ने अभिलाषामा गुरुकृपा वा ईश्वर कृपाको आशामा गुरु तथा बाबाहरुको चक्कर लगाइरहेका हुन्छौं। सकिनसकी ध्यान, प्रार्थना तथा जपतपमा लागिरहेका हुन्छौं।

कतिपय आधुनिक शिक्षित व्यक्तिहरुले समेत ‘टेन स्टेप्स टु सक्सेस’ जस्ता पुस्तकको अनुशरण गरेको पाइन्छ। यस्तै प्रकारले शहरी अभिभावकहरु आफ्ना केटाकेटीलाई सुपरकिड बनाउने चाहनामा संगीत, कला, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापदेखि लिएर सुपर लर्निङ तथा क्रिएटिभ लर्निङ जस्ता कक्षाहरुमा सहभागी गराइरहेका छन्। के साँच्चै यस्ता विविध क्रियाकलापहरुका माध्यमबाट हाम्रो तेस्रो नेत्र खुल्ने तथा ‘सुपर किड’ बन्ने सम्भावना छ त?

सबैभन्दा पहिले ‘सुपर किड’ बनाउने तर्फ लाग्नुभन्दा पहिला आफ्नो मस्तिष्कको बनोट बारे बुझ्नु जरुरी छ। मस्तिष्क एउटा जटिल अंग हो, र यो करिब १० अर्ब न्युरोन अथवा मस्तिष्क कोषहरुबाट बनेको हुन्छ। साधारणतया यस्को तौल तीन पाउन्डको हुन्छ। शरीरको २% मात्र हिस्सा ओगटे पनि यसले सम्पूर्ण उर्जाको करिब २०% ऊर्जा आफ्ना गतिविधिका लागि उपयोग छ। हेर्दा ओखरको गुदीजस्तो देखिए पनि मस्तिष्कलाई दुई भागमा विभाजन गरिएको हुन्छ जसलाई दाँया र बाँया मस्तिष्क भनिन्छ र यो असंख्य तन्त्रिका (नर्भ फाइबर्स) बाट जोडिएको हुन्छ।

धेरैजसो न्यूरो वैज्ञानिकहरुको मतअनुसार दाँया र बाँया मस्तिष्क हेर्दा उस्तै देखिए पनि केही क्षेत्रमा यसले भिन्न कार्य गर्दछ। यसैरुपमा प्रख्यात न्यूरो वैज्ञानिक जेर डब्लु स्पारेले दाँयाबाँया मस्तिष्कको सिद्धान्त अगाडि सारेका थिए। उनलाई सन् १९८१ मा नोबेल पुरस्कारबाट विभूषित गरिएको थियो। मूख्यतया मानव वा अन्य स्तनधारी प्राणीहरुमा रहने भावना (इमोसन) को प्रस्फुटनमा दाँया मष्तिष्कबाट हुन्छ भने भाषाको निर्माण तथा नियन्त्रण बाँया मस्तिष्कबाट हुने गर्दछ। हाम्रो शरीरको दायाँ भागको नियन्त्रण बायाँ मस्तिष्कबाट हुन्छ भने बाँया भागको नियन्त्रण दाँया मस्तिष्कबाट हुने गर्दछ। बाँया मस्तिष्क बढी मात्रामा आन्तरिक क्षेत्रमा सक्रिय हुन्छ भने दाँया मस्तिष्क बाहिरी संसारमा सक्रिय हुन्छ।

धेरै मानिसहरुको धारणाअनुसार दाँया मस्तिष्क बढी सिर्जनशील हुने र यो कला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुमा सक्रिय हुन्छ भने व्यवस्थित तथा तार्किक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको बाँया मस्तिष्क बढी बढी सक्रिय हुन्छ। अतः दाँया मस्तिष्क सक्रिय हुनेहरु संगीत, कला, साहित्यमा रुचि राख्ने र सिर्जनशील कार्य गर्ने चाहना भएका हुन्छन्। यस्तै प्रकारले बाँया मष्तिष्क सक्रिय हुने व्यक्तिहरु तर्क र वास्तबिक धरातलमा बसेर कार्य गर्न रुचि राख्छन्। यिनीहरु गणित र विज्ञानको क्षेत्रमा बढी रुचि राख्छन्।

दाँया बाँया मस्तिष्कको सिद्धान्तलाई सन् २०१३ मा १०० व्यक्तिहरुको मस्तिष्कको एमआरई स्क्यानरबाट थ्री डी पिक्चरको अध्ययन गर्दा उक्त सिद्धान्तको अस्तित्व अस्वीकार गरियो। यस परीक्षणले के देखायो भने मानिसका दुवै भागको मस्तिष्क उत्तिकै सबल हुन्छ र एउटा भाग बढी र अर्को भाग कम सक्रिय हुने तथ्य भेटिएन।

हुन त मस्तिष्क पाँच ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा सक्रिय हुन्छ, तर बेला बखत छैठौं इन्द्रियको कुरा नउठ्ने पनि होइन। छैठौं इन्द्रिय जसलाई भौतिकरुपमा प्रष्ट व्याख्या गर्न त सकिन्न तर महशुस गर्न सकिन्छ। एउटा भनाइ अनुसार करिब १०% मानिसहरुमा छैठौं इन्द्रिय सक्रिय भएको मानिन्छ, जसलाई भविष्यमा हुनसक्ने घटनाहरुबारे आभास हुन सक्छ। उनीहरु अन्य मानिसका मनको कुरा बुझ्न सक्छ र अदृश्य शक्ति तथा तरंगहरुलाई महसुस गर्ने क्षमता पनि राख्छन्।

कसै कसैले छैठौं इन्द्रियलाई तेस्रो नेत्रसँग समन्वय या व्याख्या गरेको पाइन्छ। तेस्रो नेत्रको कुरा विभिन्न धार्मिक मान्यतामा प्रशस्त उल्लेख भएको पाइन्छ। हिन्दू शास्त्रको साथै अन्य सभ्यता जस्तै इजिप्ट, मेसोपोटामिया, माया, आदिमा पनि तेस्रो नेत्रको चर्चा भएको पाइन्छ। शिव पुराणमा उल्लेख भएअनुसार शिवजीको तेस्रो नेत्रमा सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गर्न सक्ने शक्ति रहेको छ।

कुण्डलिनी विज्ञानको आधारमा भन्ने हो भने तेस्रो नेत्रको स्थान आज्ञाचक्रको स्थानमा हुन्छ। योे हाम्रो दुईवटा आँखीभौं भन्दा एक औंलमाथि हुन्छ। शरीर विज्ञानअनुसार तेस्रो नेत्र भएको स्थानको भित्री भागमा पीनियल ग्रन्थी रहेको हुन्छ। पीनियल ग्रन्थी हाम्रो मष्तिष्कको भित्री भागमा रहेको हुन्छ र प्रायः सवैजसो स्तनधारी प्राणीहरुमा पीनियल ग्रन्थी हुन्छ। पीनियल ग्रन्थी वाल्यवस्था वर्षको बालक अवस्थादेखि नै विकासित हुन सुरु हुन्छ। पीनियल ग्रन्थी ‘क्याल्सियम फोस्फेट’, ‘क्याल्सियम कार्बोनेट’, ‘म्याग्नेसियम फोसफेट’ तथा एमोनियम फोसफेटबाट बनेको हुन्छ। पीनियल ग्रन्थीमा शरीरको अन्य भागको तुलनामा अत्याधिक रक्त प्रवाह हुन्छ र त्यसैकारण यो शक्तिको अतिकेन्द्रित स्वरुपमा रहेको हुन्छ।

पिनियल ग्रन्थीले मेलाटोनिन र सेरोटोनिन हार्मोनको उत्सर्जन गर्छ। सक्रियतामा मद्दत गर्छ। मेलाटोनिन हार्मोनले निद्रा लगाउन, बुढ्यौली कम गर्न र तनाब कम गर्न मद्दत गर्दछ। यदि मेलाटोनिन अवरोध भएमा मानिसमा चिढचिढापन बढ्ने र डिप्रेशन हुने खतरा बढ्न सक्दछ। त्यस्तै सेरोटोनिन हार्मोनले मानिसलाई खुशी बनाउन सहयोग गर्दछ। अतः पिनियल ग्रन्थीले हाम्रो गुणात्मक निद्रालाई सहयोग गर्नुका साथै सपना देख्न पनि मद्दत गर्दछ। यसले हाम्रो जागृत तथा निद्राको तारतम्य मिलाउन र बायोलजिकल घडीलाई व्यवस्थित गर्ने गर्दछ। कम प्रकाश तथा अँध्यारोमा पीनियल ग्रन्थी सक्रिय रहन्छ तर उज्यालोमा यसको सक्रियतामा ह्रास आउँछ।

पीनियल ग्रन्थीको अन्य ग्रन्थी हाइपोथालमस र पिट्युटरी ग्रन्थीसँग पनि अन्तरसम्बन्ध छ। यी ग्रन्थीहरुले बाँच्नका लागि आवश्यक अवस्था जस्तै शरीरको तापक्रम, भोक, प्यास, थकाइ, तौल, यौनचाहना, दुखाइ कम गर्ने, रक्तचाप नियन्त्रण जस्ता कार्यहरु गरिराखेका हुन्छन्। पीनियल ग्रन्थीको मानिसको भावना र विश्वाससँग पनि अन्तरसम्बन्ध छ। यस ग्रन्थीको सक्रियतामा नै मानिसमा बाँच्ने चाहना सबल हुन्छ र यसले मनुष्यलाई आनन्दको अवस्थामा पुर्‍याउन सहयोग गर्दछ।

यसरी सरसर्ती हेर्दा तेस्रो नेत्र भनौं या छैठौं इन्द्रिय या आज्ञाचक्र, यी सबैको पीनियल ग्रन्थीसँग अन्तरसम्बन्ध रहेको पाइन्छ। यस ग्रन्थीसँगै हाम्रो खुशी तथा सफलता लुकेको छ। तेस्रो नेत्र बन्द भएको अवस्था या पीनियल ग्रन्थी सक्रिय नभएको अवस्थामा मानिसमा चिढचिढापन बढ्ने, तनाब बढ्ने, आत्मविश्वासमा कमी हुन जाने, नकारात्मक सोचको विकास हुने, सबैथोक आफ्ना विरुद्ध लागेको अनुभव गर्ने, अनिद्राको अवस्था हुन जाने सम्भावना वृद्धि हुन्छ।

हाम्रो जीवनको खुशी तथा सफलताको चाबी तेस्रो नेत्रलाई सक्रिय बनाउन सकिन्छ त? ताओ तथा झेन बौद्ध धर्ममा तेस्रो नेत्र सक्रिय गर्ने विधि रहेको पाइन्छ । हिन्दू शास्त्र, योग तथा तन्त्रमा पनि तेस्रो नेत्र सक्रिय गर्ने विधिको चर्चा गरेको पाइन्छ।

मुख्यरुपमा हिन्दू तथा बौद्ध मतअनुसार योग, तन्त्र, मन्त्र तथा ध्यान विधिबाट तेस्रो नेत्रलाई सक्रिय बनाउन सकिन्छ र यसलाई सक्रिय बनाएमा अपार आनन्दको अनुभव गर्न सकिन्छ।

हुन त तेस्रो नेत्र, वस्तुगत प्रमाणको आधारमा यही नै हो भनेर भन्न सकिन्न । तर ध्यानको अभ्यास गरेमा हामीले पीनियल ग्रन्थीलाई सक्रिय बनाउन सक्छौं। यदि हामी आफ्ना वच्चाहरुलाई ‘सुपर किड’ बनाउने चाहना छ भने व्यवस्थित तवरले मष्तिष्कलाई सक्रिय बनाउनु पर्दछ। जसरी शरीरलाई सबल बनाउन शारीरिक अभ्यास जरुरी हुन्छ त्यस्तै तवरले उनीहरुको मानसिक अवस्था सबल बनाउन मानसिक अभ्यास जरुरी पर्दछ। ध्यान यस्तो विधि हो, जसले हाम्रो शारीरिक, मानसिक, तथा अध्यात्मिक विकासमा सहयोग पुर्‍याउँछ। यदि हामीले आफ्ना छोराछोरीलाई ध्यान गर्ने बानी बसालेमा उनीहरु अवश्य नै सफल बन्नेछन्। हुन सक्छ, केही बालबालिका ‘सुपर किड’ पनि बन्न सक्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?