
काठमाडौँ – गत शुक्रबार दाङमा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो। जीवन गुमाउनेमा अधिकांश विधार्थी थिए। त्यसको एक साताअघि नुवाकोटमा मलामी बोकेर फर्किएको ट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।
दुवै घटनामा सवारी साधन सडकभन्दा करिब ५ सय मिटर तल झरेको थियो। प्रहरीको केन्द्रीय तथ्यांक अनुसार गत मंसिरमा मात्र सवारी दुर्घटनामा देशभर तीन सय ११ जनाले ज्यान गुमाएका थिए।
त्यस महिना ३ सय ८८ जना गम्भिर घाइते भए। चालु आर्थिक वर्षमा महिनाको हिसाबले मंसिरमा मात्र तीन सयभन्दा बढीको ज्यान गएको हो।
चालु आर्थिक वर्षमा देशभर भएका सडक दुर्घटनामा एक हजार एक सय ७६ जनाले ज्यान गुमाए भने एक हजार ८ सय ७६ जना गम्भिर घाइते भए। ज्यान गुमाउनेमध्ये एक सय ६ जना बालबालिका छन्।
सबैभन्दा बढी प्रदेश-५, सबैभन्दा कम प्रदेश-६
प्रहरी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सडक दुर्घटनामा सबैभन्दा बढीले प्रदेश-५ र सबैभन्दा कमले प्रदेश-७ मा ज्यान गुमाएका छन्। प्रदेश-५ मा दुई सय ६२ जनाले ज्यान गुमाएका छन्।
प्रदेश-२ मा दुई सय ३०, प्रदेश-३ मा दुई सय २४, प्रदेश-१ मा एक सय ७३ र काठमाडौँ उपत्यकामा एक सय ७ जनाले ज्यान गुमाएका छन्। प्रदेश-४ मा एक सय १ र प्रदेश-७ मा ७५ र प्रदेश-६ मा ७५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ।
यस्तो छ विगत
गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी दुई हजार पाँच सय ४१ जनाले ज्यान गुमाएका थिए। त्यसमा दुई सय ६१ बालबालिका र चार सय ६ जना महिला थिए। बाँकी पुरुष थिए।
काठमाडौँ उपत्यकामा मात्र एक सय ९४ जनाले ज्यान गुमाएका थिए जसमा एक सय ३८ पुरुष, ३९ महिला र १७ बालबालिका थिए। प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा मात्र दुई सय १९ जना गम्भिर घाइते भएका थिए।
आर्थिक वर्ष ०७३/०७४ मा देशभर भएका सडक दुर्घटनामा दुई हजार तीन सय ८४ जनाको मृत्यु भएको थियो भने चार हजार दुई सय ५० जना गम्भिर घाइते भएका थिए।
गल्ती कस्को ?
तथ्यांकअनुसार सडक दुर्घटनामा दैनिक नेपालमा औसत सात जनाले ज्यान गुमाउने गरेका छन्। त्योभन्दा बढीको संख्यामा गम्भीर घाइते हुन्छन्। अधिकांश घटनामा प्रहरीले चालकको लापरबाहीलाई मुख्य कारण मान्ने गरेको छ।
आर्थिक वर्ष ०७३/७४ मा देशभर भएका कुल १० हजार एक सय ७८ दुर्घटनामध्ये सात हजार चार सय ८७ वटा घटनामा चालकको दोष रहेको प्रहरीको विश्लेषण छ। तीन सय ७६ घटनामा यात्रुलाई दोष दिईएको छ। तिव्र गति र ओभरटेकलाई पनि मुख्य कारण मानिएको छ।
९४ वटा घटनामा मात्र सडकको अवस्थालाई कारण देखाईएको छ। चालु आर्थिक वर्ष देशभर भएका कुल ९ सय ७६ दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाहीलाई नै दोष देखाएको छ। केवल १३ घटनामा सडकको अवस्थालाई कारणका रुपमा विश्लेषण गरिएको छ।