
विर्तामोड- चालू आर्थिक बर्षको मंसिर महिनासम्मको तथ्यांकको आधारमा झापाका गाउँमा भन्दा शहरमा जबरजस्ती करणीका घटना भएका छन्।
चालू आर्थिक बर्षको विगत पाँच महिनाको तथ्यांकका आधारमा सबभन्दा बढी दमक नगरपालिकामा जबरजस्ती करणीका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्यांकमा दमक नगरपालिकामा विगत पाँच महिनामा १० वटा जबरजस्ती करणी र ५ वटा जबरजस्ती करणीको प्रयासका घटना भएका छन्।
त्यसैगरी विर्तामोड नगरपालिकामा ८ वटा जबरजस्ती करणी र २ वटा जबरजस्ती करणी प्रयासका घटना भएका छन्। मेचीनगर नगरपालिकामा ९ वटा जबरजस्ती करणीका घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिकामा ७ वटा जबरजस्ती करणी र २ वटा जबरजस्ती करणीका प्रयासका घटना भएका छन्। त्यसैगरि गौरादह नगरपालिकामा ६, कनकाई नगरपालिकामा ५, शिवसताक्षी नगरपालिकामा ४ र भद्रपुर नगरपालिकामा २ वटा जबरजस्ती करणी तथा जबरजस्ती करणी प्रयासका घटना भएका छन्।
बुद्धशान्ति गाउँपालिकामा ५, हल्दिबारी गाउँपालिकामा ५, कमल गाउँपालिकामा ५, गौरीगञ्ज गाउँपालिकामा ४, कचनकवल गाउँपालिकामा ३, झापा गाउँपालिकामा २ र बाह्रदशी गाउँपालिकामा २ वटा गरि झापामा विगत पाँच महिनामा ८६ वटा यौनजन्य हिंसाका त्यस्ता घटना भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
प्रहरीका अनुसार शहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण शहरमा यौनजन्य हिंसाका घटना बढेको हो। प्रहरी उपरीक्षक ढकाल भन्छन्, ‘हामीले त्यस्ता घटना शहरी क्षेत्रमा बढी भएपछि सो क्षेत्रमा निगरानी बढाएका छौं।’
ललाई फकाई तथा प्रेम विवाहको प्रस्ताव प्रमुख कारण
ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी रहेको पाइएको छ। त्यस्ता प्रकृतिको घटना साउनमा १३, भदौमा ६, असोजमा ६, कात्तिकमा १ तथा मंसिरमा १० वटा रहेको प्रहरीको तथ्यांकमा छ।
अन्य कारणहरुमा डर त्रास, धाक धम्की तथा आर्थिक प्रलोभन पनि छन्। फकाउने र प्रेम विवाहको प्रस्ताव गरेर जबरजस्ती करणी गर्ने पीडकको उमेर समूहमा १६ देखि २५ का मानिसहरुको संख्या बढी रहेको छ भने पीडितको उमेर समूहमा १६ बर्षदेखि मुनीका बालिकाहरु रहेका छन्। चालु आर्थिक बर्षमा ६१ जना बालिका पीडित बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरी प्रमुख एसपी ढकालले भने, ‘यौन सम्बन्धको प्रस्ताव गर्नेहरु १६ देखि २५ बर्षसम्मका युवा बढी छन् भने पीडितहरुको उमेर समूह भने १६ बर्ष भन्दा मुनीका छन्।’
पाँच महिनामा १०६ जनामाथि मुद्दा
विगत पाँच महिनामा जिल्ला प्रहरी कार्यालय झापाले यौन हिंसा गराउने १०६ जनामाथि मुद्दा चलाएको छ। त्यस्मा प्रहरीले ९६ जनालाई पक्राउ गरेको छ भने १० जना फरार रहेका छन्। तर पक्राउको तथ्यांकलाई आधार मानेर पीडकलाई कानुनको दायरामा ल्याउनमा प्रहरीले सफलता ठानेको छ।
प्रहरी उपरीक्षक ढकालले भने, ‘त्यस्मा पनि ७८ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। जसलाई हामी हाम्रो कामको ९५ प्रतिशत सफलता ठान्छौं।’
यौनजन्य हिंसा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले अभियान नै सञ्चालन गरेको थियो। त्यसयता त्यस्ता हिंसाका घटना क्रमशः कम हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।