सुर्खेत– कालिकोटमा भएको भीषण आगलागीमा परि सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाता गाउँपालिका–१ को खाडागाउँस्थित न्यौपानेबस्तीमा भएको आगलागीमा परि चार पुरुष र तीन महिला घाइते भएका हुन् ।
राति एक बजेदेखि भएको आगलागीबाट ७० वर्षीया चन्द्रारुपा सन्ज्याल, देवराज हमाल, ३७ वर्षीय विष्णु ऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिष्मा न्यौपाने, आस्था न्यौपाने र रत्न न्यौपाने घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
भागदौड गर्दा हात, खुट्टामा चोट लागेका ६ जनाको अवस्था सामान्य रहेपनि चन्द्ररुपाको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक कालुराम थारुले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार ज्ञाहेन्द्रविक्रम शाहीका अनुसार आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ ।
नविन न्यौपानेको घरबाट सुरु भएको आगलागिले बस्तीनै सखाप पारेको छ । आगो भर्खरै नियन्त्रणमा लिइएको छ । आगलागीको यथार्थ क्षति भने आउँन बाँकी छ ।

भर्खरै
लोकप्रिय






































































































































































































