सुर्खेत – मध्यरातको १२ बजे गाउँ सुनसान थियो। कालिकोटको पताला गाउँपालिका वडा नम्बर १ खाल्टे वस्तीका सबै मस्त निद्रामा थिए। गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरमा एक्कासी आगलागी भयो। घरमा आगलागीबारे परिवार नै बेखबर थिए।
‘न्यौपाने वस्तीदेखि बोलाउँदा सुनिने अर्को वस्ती छ,’ स्थानीय देव विश्वकर्माले भने, ‘कोलाहल भएपछि परिवारले थाहा पाए। मान्छे त बँचे, तर धनमाल जोगाउन सकिएन। सबै नष्ट भयो।’
एक्कासी लागेको आगोले खरले छाएको छाना भेटाएपछि अनियन्त्रित बन्यो। एक–अर्को गर्दै नजिकै जोडिएका ८७ घर जलेर ध्वस्त भए। गाउँमा सडक नै पुगेको छैन।
‘गाउँमा एक्कासी कोलाहल मच्चियो। के भयो, भनेर बाहिर निस्किँदा घरमा आगो लागेको। हतारो मच्चिएको थियो,’ वडा सचिव विष्णुकान्त प्याकुरेलले भने, ‘दमकल पुग्नसक्ने अवस्था छैन, वस्तीमा आगो निभाउने प्रयाप्त पानी पनि थिएन। खरको छाना भेटाएपछि आगो अनियन्त्रित हुँदै गयो। एक घरबाट शुरु भयो आगोले हेर्दाहेर्दै आँखै अगाडि वस्ती सखाप पार्यो।’
खरले छाएका छाना भएको एक सय ७९ घरधुरी रहेको वस्तीमा ८७ घर जलेर नष्ट भएका छन्। आगलागीले वस्ती भेटाएपछि पुस कठ्याङग्रिँदो चिसोमा घरमा लागेको आगोले सेकिएर बस्नु पर्ने बाध्यता बने, खाडागाउँबासी।
‘घर जल्दै गए, सुतेका मान्छे र पशुचौपाया बाहिर निकालियो। उज्यालो पनि भयो,’ उनले भने, ‘तर, घरमा भएका लत्ताकपडा र धनसम्पति सबै जल्यो। लगाएको एकसरो कपडाबाहेक अरु केही जोगिएन।’
बाक्ला र एकनासका घर भएको सुन्दर वस्तीमा एकै रातको आगोले उजाड बन्यो। कालिकोटको सबैभन्दा दुर्गममा पर्छ, खाडागाउँ। आगलागी भएलगतै खबर पाएको प्रहरी नै चार बजे वस्तीमा पुग्यो।

राति एक बजेदेखि शुरु भएको आगलागी बिहान ११ बजे वस्ती सखाप भएपछि नियन्त्रणमा आयो। राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभएपनि बस्ने बास ध्वस्त भएका छन्, पुस्तौदेखि कमाएको सम्पती र खाद्यान्न नष्ट भएको छ। आगलागीमा झण्डै तीन करोड बढीको क्षति भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागीमा ७ जना घाइते भएको छन्। आगलागीबाट ७० वर्षीय चन्द्रारुपा सन्ज्याल, ७० वर्षीय देवराज हमाल, ३७ वर्षीय विष्णु ऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीय करिश्मा न्यौपाने, आस्था न्यौपाने र रत्न न्यौपाने घाइते छन्।
आगोले पूरै गाउँ जलाएपछि त्यहाँका ८७ घरपरिवारहरु बिचल्लीमा परेका छन्। घर जलेर नष्ट भएपछि ८७ घरका एक सय ७१ पुरुष, दुई सर ३९ महिला र एक सय ३० जना बालबालिका प्रभावित भएका छन्।
बस्ने बास जलेपछि आगलागी पीडितहरु नजिकैको गणेश आधारभूत विद्यालयमा आश्रम लिएका छन्। ‘कोही नजिकैका छिमेकी वस्तीमा बसेका छन्, कोही विद्यालयमा बसेका छन्,’ वडासचिव प्याकुरेलले भने, ‘सरकारले दिएको चामल र चाउचाउ खाएर बस्नुपर्ने अवस्था छ।’
अग्निपीडितलाई मुख्यमन्त्रीको आश्वासन
आगलागी पीडितलाई राहत सामग्री लिएर पताँला पुगेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिट्टै पुनर्स्थापना गर्ने आश्वासन दिएका छन्। उनले आगलागी पीडितका लागि वस्ती विकास गरिने बताए। ‘सरकार तपाईका समस्याप्रति जिम्मेवार छ,’ शाहीले आश्वासन दिँदै भने, ‘प्रदेश सरकारले एकीकृत वस्ती विकास गरेर तपाईहरुको व्यवस्थापन गर्छ।’
आगलागी पीडितहरुले सरकारले पुनर्स्थापनाको प्रतिवद्धता नजनाएसम्म राहत नबुझ्ने अडान राखेपछि मुख्यमन्त्रीले प्रदेश सरकारले छिट्टै उचित क्षतिपूर्तिसहित घरबास दिने आश्वासन दिएको वडा सचिव प्याकुरेलले जानकारी दिए।

संघीय र प्रदेश सरकारले आगलागी पीडितलाई राहत वितरण गरेको हो। आगलागी पीडितलाई ओढ्ने ओछ्याउनेसहित खाद्यान्न सामग्री सरकारले वितरण गरेको हो। प्रदेश सरकारले प्रतिपरिवार नगद २०–२० हजार रुपैयाँ प्रदान गरेको छ। यस्तै, चिसो मौसम भएकाले न्यायो कपडा वितरण गरिएको छ।
प्रदेशले एक सय थान ब्लाङ्केट, पाँच बण्डल पिफम, एक सय थान सिरक, डसना वितरण गरेको हो। यस्तै, खाद्यान्नमा १५ पेटी चाउचाउ, ६ पेटी विस्कुट, तीन बोरा चिउरा र २३ किलोग्राम फुरनदाना वितरण गरेको छ।
संघीय सरकारको तर्फबाट गृह मन्त्रालयले ६० थान त्रिपाल, एक सय थान जुत्ता, एक सय थान ज्याकेट, ट्राउजर र दुई सय थान ब्लाङ्केट वितरण गरेको छ। सदरमुकाम मान्माबाट तीन हजार किलो चामलसहित दाल, नुन तेललगायतको आवश्यक खाद्यान्न सामग्री आगलागी पीडितहरुलाई प्रदान गरिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































