सुर्खेत– कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँ न्यौपाने बस्तिमा भएको आगलागीबाट विस्थापीत परिवारले पाँच लाख रुपैयाँ पाउने भएका छन् । आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
आगलागिवाट पीडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपीडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने निर्णय कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रीपरिषद् वैठकले गरेको छ ।
जसअन्तरगत प्रदेशले आगलागी पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद पाँच लाख आर्थिक सहयोग गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताइन् ।

आगलागी भएकै बस्तीमा आगलागी पीडितहरुलाई पुनस्र्थापना गरिने योजना प्रदेश सरकारले बनाएको छ । कालिकोटको खाडा पुस ८ गते राती २ वजे भएको आगजनीबाट ८७ घरपरिवार विस्थापीत भएका छन् ।
यसैबीच, बैठकले प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु मनोनयन गरेको छ । प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा श्यामलाल कँडेल, सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरिएको छ ।
जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणी मल्ल, डोल्पामा तेजेन्द्रबहादुर रोकाया, हुम्लामा छेपाल दोर्जे लामा तामाङ्ग, कालिकोटमा सरोज बोगटीलाई अध्यक्षमा मनोनयन गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।
यस्तै, जाजरकोट जिल्ला अस्पतालको अध्ययक्षमा धर्मशिला बस्नेत, रुकुम पश्चिममा सुन्दर वली, मेहलकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































