
बिर्तामोड – नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन ६ महिनाभित्र गर्न माग गरेका छन्।
कांग्रेस झापाले सोमबार बिर्तामोडस्थित पार्टी कार्यालयमा ४२औं मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सिटौलाले पार्टीको नयाँ विधान अनुसार महाधिवेशन गरिनुपर्ने बताएका हुन्।
नेता सिटौलाले भने, ‘परिवर्तित देशको संरचनामा पार्टीको संरचना पनि सोही अनुरुप लैजानुपर्छ। सभापतिजीले मान्नु भएन ६ महिनाभित्र महाधिवेशन गर्न जहाँ–जहाँ पार्टीका समितिहरु छैनन्, त्यस्ता स्थानमा संक्रमणकालिन व्यवस्था गर्नुपर्छ।’
पहिलाका संरचना कतै खुम्चिएका, कतै जिल्ला फुटेका हुनाले त्यस्ता रिक्त स्थानमा तुरुन्त पार्टीको संरचना बनाउनुपर्ने उनले बताए। उनले भने, ‘निर्वाचन क्षेत्र खुम्चिएका छन्। स्थानीय तह छन्। प्रदेश छ। तर पार्टीको संरचना छैन।’
सिटौलाले विपी कोइरालाले मानिसलाई जहिले पनि चेतना दिन खोजेको बताए। राजनीतिज्ञ मात्र नभएर कोइराला साहित्यको माध्यमबाट पनि समाजिक विषयलाई उठाएर जनता जान चाहने एक नेतामा रुपमा रहेको सिटौलाले बताए। उनले भने, ‘विपीले कार्यकर्तालाई जगाउने प्रयास गर्नु हुन्थ्यो।’
नेपालको राजनीतिमा विकृति आउन खोजिरहेको बताउँदै नेता सिटौलाले कुनै नेता वा पार्टीका कार्यकर्ताले विगतमा गल्ती गरेको भए सच्याउनु पर्ने बताए। सिटौलाले भने, ‘हिजो गल्ती गरें आज नि गर्छु भन्न पाइन्न।’
उनले राजनीति गर्नेले आफूलाई होइन समाजका लागि गर्नुपर्ने बताए। विगतमा वामपन्थी पार्टीहरुले विपी अराष्ट्रवादी तत्व भनिरहँदा अहिले उनीहरुले पनि विपी सिद्धान्तलाई आत्मसात गरेको सिटौलाको भनाइ थियो। सिटौलाले भने, ‘विपी एकजना डाइनामिक लिडर हुनुहुन्थ्यो।’