
बिर्तामोड – प्रधानमन्त्री केपी शर्मा ओलीले इलाममा विशेषगरी पर्यटन क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
शुक्रबार इलामको सदरमुकाम इलाम बजारमा लगानी सम्मेलनको उद्घाटन गर्दै लगानीकर्ताहरुलाई ढुक्क भएर इलाम आएर लगानी गर्ने आग्रह गरेका हुन्। ओलीले भने, ‘इलाममा लगानी गर, कमाओ।’
प्रदेश नम्बर–१ मा सगरमाथा तथा केचना जस्ता सम्पत्ति भएकाले समृद्धिले चाँडो फड्को मार्ने प्रधानमन्त्री ओलीले बताए। तर, अर्कालाई छिर्के लगाएर होइन आफैँले सिर्जनात्मक काम गरेर अगाडि बढ्न सुझाव ओलीले दिए।
उनले पर्यटकहरुलाई दुःख नदिन सुझाव पनि दिए। प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पर्यटकलाई दुःख दियो भने उनीहरु आउन मन पराउँदैनन्। त्यसैले सहज वातावरण बनाउनुहोस्।’
नेपाल सरकार विकासका काममा केन्द्रित रहेको बताउँदै ओलीले सरकार मन नपराउनेहरुले सरकारको विरोध गरिरहेको बताए। उनले भने, ‘हामी कृषिमा, उद्योगमा तथा यातायात क्षेत्रमा आधुनिकीकरण गर्दै छौँ।’
गण्डकी र कोशीमा पानीजहाज ल्याउने दाेहाेर्याए। पूर्व पश्चिम रेलमार्गको सर्भे भइरहेको उनले बताए।
उनले इलाममा पाँच तारे होटल स्थापना गर्न आग्रह गरे। उनले भने, ‘इलाममा लगानी गर्दा धेरै फाइदा छ। यहाँ लगानीको अनुकूल वातावरण छ।’
लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले एभोकाडोको बिरुवामा पानी हालेर इलाममा लगानी सम्मेलनको शुक्रबार उद्घाटन गरेका छन्।
सम्मेलन आयोजक इलाम नगरपालिकाले प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरेको छ। नगरपालिकाका मेयर महेश बस्नेतले उनलाई अभिनन्दन गरेका थिए।