
वीरगञ्ज महानगरपालिका २८ बगही टोलका किसान परमानन्द साह अहिले बिहानदेखि बेलुकासम्म आफ्नै उखुको खेतमा भेटिन्छन्। साहलाई यतिबेला उखु काट्न भ्याई नभ्याई छ । एक महिना अघिसम्म साह आफुले खेतमा लगाएको नगदै बाली उखु खेतमै सुक्न थालेपछि निराश थिए।
तर, ढिलै भएपनि चिनी मिलबाट चलान पुर्जी पाएपछि किसानहरु फेरि जाँगर लाउन थालेका छन् । सबै काम छोडेर अहिले खेतमा भएको उखु काट्नमा नै केन्दित भएका छन् किसानहरु। आफ्नो खेतमा लगाएको उखु मंसिरमै काट्नुपर्ने तयारी गरेका साहले माघ लागिसकेपछि चिनी मिलसँगको अन्योलताका कारण माघदेखिमात्र उखु काट्न थालेका हुन्।
मंसिरदेखिनै चिनी मिलहरुले क्रसिङ सुरु गर्नु पर्ने भएपनि हरेक बर्ष झै यसबर्ष पनि समयमै चिनी मिलले क्रसिङ शुरु नगर्दा उखु सुक्नै लागेपछि उखु काट्न थालेका हुन् ।
‘केही दिन अघि मात्र बल्ल चलान पुर्जी पाएँ’, साहले भने, ‘चलान नै नहुँदा कसरी उखु काट्ने ? त्यसैले अहिले आएर सुक्नै लागेको उखु भ्याईनभ्याई काटेर चिनी मिल पुर्याउन लागेको छु।’
हरेक बर्ष झै यस बर्ष पनि समयमा नै चिनी मिलले मुल्य बिबाद निकालेर एक महिना पहिले नै लिनु पर्ने उखु लिएनन् । तर ढिलै भएपनि उखु लिन थालेपछि किसानलाई भ्याईनभ्याई भएको हो।
साहले यस बर्ष ४ बिगाह जग्गामा उखु खेती गरेका छन् । समयमै उखु काट्न पाएको भए आम्दानी अझै बढि हुन्थ्यो । तर, सुकेका उखुको तौल कम हुने भएपनि बजार पाएपछि साह खुशी छन् ।
सरकारले उखु किसानको पिर मर्का बुझेर समयमा नै चिनी मिललाई क्रसिङ सुरु गर्न लगाए आफु जस्ता हजारांै किसानहरुलाई फाइदा हुने साह बताउँछन्।
हरेक बर्ष नै किसान र चिनी उधोगबीच मुल्य बिबादका कारण समयमा नै क्रसिङ हुँदैन । यसतर्फ सरकारले ध्यान पुर्याइदिनु पर्ने किसानको माग छ ।
किसानले खेतमा लगाएको उखु सुकेपछि मात्र हरेक बर्ष बिबाद सुल्झाउने गर्छ । समयमै त्यही बिबादलाई सुल्झाउन ध्यान नदिएको भन्दै किसानले गुनासो गरेका छन् ।
गएको साता सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ २८ पैसा कायम गरेको थियो । पर्सा जिल्लामा यसबर्ष ३६ सय हेक्टर क्षेत्रफलमा उखु खेती गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए।
एकै पटक चलान पाएपछि मजदुर पाउन समस्या
चिनी मिलले समयमै उखु क्रसिङ नगरी अहिले एकै पटक धेरै किसानलाई चलना दिएपछि उखु काट्न मजदुरको अभाव भएको छ । उखु सुकिसकेपछि चलान पाएकाले हतार भएपनि उखु काट्न मजदुर नपाएको किसानको गुनासो छ ।
‘धेरै किसानहरुले अहिले आएर चलान पाएकाले सबैले एकै पल्ट उखु पनि काटिरहेका छन’, किसान परमानन्द साहले भने, ‘अहिले मजदुरको अभाव भएर उखु काट्नै गाह्रो परेको छ। बिहानको समयमा मजदुर पायो भने दिनमा पाउदैन, दिनमा पायो भने बिहान पाईदैन, अहिले मजदुर नपाएकैले म बुढोले पनि खेतमा काम गर्नु परेको छ।’
जति सक्दो छिटो उखु काटेर चिनी मिललाई बिक्री गर्न नपाए कृषकलाई ठूलो मर्का पर्छ । सामान्यतया चिनी मिलहरूले फागुन मसान्तसम्म उखु क्रसिङ बन्द गरिसक्ने भएकाले समयमा बाली नकाटे धेरै किसानको उखु बाली खेतमै बस्ने सम्भावना हुन्छ ।
चिनी मिलले आफ्नो वार्षिक क्रसिङ लक्ष्य भेट्टाएपछि किसानको उखु बाली कुरेर बस्दैनन्। मजदुर नपाएका कारण एउटै मजदुरले बिहान एक जनाको भने दिउँसो अर्को किसानको उखु खेतीमा काम गर्ने गरेका छन्। युवाहरू रोजगारीका लागि भारत र खाडी मुलुकप्रतिको आकर्षण बढेपछि पर्सा, बारालगायत तराईका जिल्लामा मजदुर अभाव बढी देखिएको छ ।
चाहेको बेला मजदुर नपाइने र पाए पनि बढी महँगो ज्याला माग्ने गरेकाले नाफा पनि कम हुँदै गएको वीरगञ्ज महानगरपालिका २९ का उखु किसान गिरघारी यादवले बताए।
थोरै खेत हुने किसानले आफैले उखु काटेर ट्रायाक्टरमा लोड गरी चिनी मिलसम्म पुरयाए पनि धेरै खेत हुने किसानलाई भने कृषि मजदुरमै आश्रित हुनुपर्ने बाध्यता रहेको किसान यादव बताउँछन्।
‘आफूले नभ्याउँदा मजदुरको भर पर्नै पर्छ’, यादवले भने, ‘कृषि मजदुर अभावमा अहिले उखु चिनी मिलसम्म पुर्याउन समस्या झेल्नु परेको छ।’
नगदे बाली उखु, रोपिसकेपछि अन्य बाली जत्तिको स्याहार गर्न नपर्ने भएपनि उखु रोप्ने र काट्ने बेलामा भने मजदुर अभावको समस्या किसानले झेल्दै आएका छन्।