
भद्रपुर- चन्द्रगढी विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘जब मैले यात्रु हिँड्ने बाटोमा गोमन सर्प घस्रिँदै गरेको देखें मलाई लाग्यो अब मैले पनि केही गरिन भने यो विमानस्थलको उन्नति हुँदैन।’
यही एउटा घटना थियो चन्द्रगढी विमानस्थलको स्वरुप फेरिने कारण।अहिले उक्त विमानस्थलको स्वरुप हेर्दा लाग्छ छोटो समयमा जादु जस्तै भएको छ। जहाज टेक अफ तथा ल्याण्ड गर्ने रनवे बाहेक काँस घारीले भरिने गरेको विमानस्थल अहिले मानिसका लागि फोटो खिच्ने स्थल बनेको छ।यात्रुका बाल बच्चा खेल्ने उद्यान बनेको छ।
त्यति मात्र होइन कतिपय यात्रुले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा धेरै राम्रो तथा व्यवस्थित भन्न थालेका छन्। यात्रु प्रस्थान फराकिलो बनाइएको छ। बुढा बुढी यात्रुका लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको छ।
केही महिना अघिसम्म फोहोरको डंगुर देखिने विमानस्थल अहिले चारैतिर उद्यान, बगैंचा तथा विभिन्न कलात्मक मूर्तिहरुले आकर्षक बनेको छ। उद्यान देखाउँदै नागरिक उड्डयन कार्यालयका प्रमुख चुँडालले भने, ‘यो सबै दाताहरुको सहयोगले भएको हो।यहाँ दाताहरुले करिब २५ लाख रुपैयाँ बराबरको काम गर्नु भएको छ।’
चुँडालका अनुसार विमानस्थलमा सबभन्दा पहिला जहाजको सुरक्षाको काम गरिँदैछ। त्यसपछि यात्रुको सुरक्षा जाँचमा सहजता अनि विमानस्थलको सौन्दर्य बढाउने काममा नागरिक उड्डयन कार्यालय लागेको छ।
१८ महिना अघिदेखि उक्त विमानस्थलमा भू-उपग्रह प्रणालीको ल्याण्डिङ सिस्टम जडान गरेपछि अहिले २२ सय मिटर भिजिविलिटी हुँदा पनि जहाज ल्याण्ड गर्नसक्ने अवस्था छ। केही दिनपछि पूर्ण आइएफआर प्रणालीमा लैजानका लागि लाइट जडान गर्ने काम धमाधम भइरहेको छ।
‘हामीले टावरको क्षमता बढाएर अहिले २७ किलोमिटर एरियामा हाम्रो टावरले काम गर्न थालेको छ,’ चुँडालले भने, ‘जुन जहाजको सुरक्षाको लागि महत्वपूर्ण पाटो हो।’
यात्रुको सामान प्रहरीले हातले खोतलेर जाँच गर्दा यात्रुलाई कष्ट हुने भएकाले एक्स-रे मेसिनको व्यवस्था गरिएको उनले बताए। उनले भने, ‘अब यात्रुको हाते झोलाको सुरक्षा जाँचको पनि मेसिनबाटै गर्ने व्यवस्था छिट्टै हुँदैछ।’
काठमाडौंपछि तेस्रो मुलुकका यात्रु आउने मुख्य विमानस्थल
काठमाडौं बाहिरका विमानस्थलहरुबाट नेपाल आउने पर्यटकमा अधिकांश भारतीयहरु हुने गरेको चुँडालले जानकारी दिए। तर चन्द्रगढी विमानस्थलमा भारत लगायत भुटान, बंगलादेश, म्यानमार जस्ता देशहरुबाट यात्रु आउने गरेका छन्। उनले भने, ‘मैले चन्द्रगढी विमानस्थलबाट यात्रा गर्नुको फाइदाका बारेमा भुटानसम्म गएर कुरा गरेको छु।’
उनले अहिले यात्रुको संख्या दिनानुदिन बढ्दै गएको जानकारी दिए। अब पूर्ण आइएफआर प्रणालीमा विमानस्थल पुगेपछि फ्लाइट रद्द हुने रोगबाट मुक्ति पाइने उनले बताए।
चुँडालले भने, ‘गत जाडो महिनामा भिजिविलिटी कम भएर धेरै दिन बन्द भएको विमानस्थल यो पाली एक दिन पनि बन्द भएको छैन।’ उनले चन्द्रगढी विमानस्थलबाट माउन्टेन फ्लाइट गराउने कुरा एयरलाइन्स कम्पनीहरुसँग कुरा भइरहेको जानकारी दिए।आगामी फागुन महिनादेखि जहाजको सुरक्षाका लागि दमकलको पनि व्यवस्था गर्न लागिएको उनले बताए।