सुर्खेतः कालिकोटको एउटा स्थानीय तहका पशुपालक कृषकहरुले भेडाबाख्रा पालन गरेवापत मासिक भत्ता पाउने भएका छन्।
मासुजन्य पशुपालनलाई बृद्धि गराउन कालिकोटको पचालझरना गाउँपालिकाले पशुपालक कृषकलाई गोठालो भत्ता दिने भएको हो।
गाउँसभाबाट स्थानीय भेडा, बाख्रा पालन गर्ने किसानहरुलाई गोठालो भत्ता दिने निर्णय गाउँपालिकाले गरेको छ।
स्थानीयस्तरमा व्यवसायीक रुपमा भेडा र बाख्रापालन गर्ने किसानहरुलाई पशुपालन व्यवसायमा थप प्रोत्सहान गर्न गोठालो भत्ता दिने निर्णय गरिएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए।
उनले यसका लागि गाउँपालिकाले बजेटको पनि व्यवस्था मिलाएको जानकारी दिए।
गाउँपालिका भित्र ५० भन्दा बढी भेडा बाख्रा पालन गर्दै आएका किसानहरुलाई गोठालो भत्ता बापत मासिक एक हजार दिने भएको छ।
यस्तै, एकसय भन्दा बढी भेडा बाख्रापालन गर्दै आएका किसानहरुलाई मासिक दुई हजार गोठालो भत्ता प्रदान गरिने छ।
यसले किसानहरुलाई व्यवसायीक रुपमा पशुपालन क्षेत्रमा आकर्षित गर्ने अपेक्षा लिइएको छ। गाउँपालिकाले भक्ता दिने निर्णय गरेपछि स्थानिय भडा, बाख्रापालन गर्ने किसानहरु खुसी भएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































