भुटानी शरणार्थीका कुरा

८६ वर्षीय शरणार्थी भन्छन्, ‘यो उमेरमा एक्लै छु भनेर झुण्डिनु भएन !’

८६ वर्षीय शरणार्थी भन्छन्, ‘यो उमेरमा एक्लै छु भनेर झुण्डिनु भएन !’
+
-

दमक – भुटानबाट कुन दिन खेदाइयो भन्ने कुरा अहिले उनलाई याद छैन। छिमेकीले भन्दै थिए सन् १९९२ को अन्ततिर उनी नेपालका आएका हुन्। बेल्डाँगी शरणार्थी शिविरमा बस्दै आएका ८६ वर्षीय पूर्णबहादुर लिम्बुका शिविरमा कोही पनि छैन। उनी एक्लो जीवन बिताउन बाध्य छन् अहिले।

भुटानबाट नेपाल आउँदा उनी दुईटी श्रीमतीको साथमा आएका रहेछन्। एक्लो छोरो ११ वर्षको उमेरमा भुटानमै बिते। एउटी श्रीमती भुटानमै बितिन्। भुटानमा जति श्रीमती ल्याए पनि कानुन नलाग्ने भएकाले उनी माइली र कान्छी श्रीमतीसँग नेपाल आएका हुन्।

शिविरमा उनले दुवैवटी श्रीमती गुमाए। उनीहरु दुवैजनाको शिविरमै मृत्यु भयो। कान्छी श्रीमतीको करिब अढाई वर्ष अघि मृत्यु भएको उनले सुनाए।

अहिले शिविरमा रहेको उनको छाप्रोमा बास छ। चिसो मौसममा बाहिर हावा छिर्छ। रातभर काम्दै सुत्नुपर्ने बाध्यता उनी सुनाउँछन्। भात पकाएर खाने ठाउँमै ओछ्यान छ। बिहान उठेर लुगा पट्याउन पनि सक्दैनन्। आफ्ना लुगा खोजेर लगाउने पनि हिम्मत छैन उनीमा। तर भन्छन्, ‘आ–आफ्नो लेखान्त रहेछ। एक्लै भएँ भन्दैमा आत्महत्या गर्नु भएन । झुण्डिनु भएन ।’

भुटानमा उनको घर भारतको आसाम र भुटानको सिमाना नजिक निचुला ब्लकमा भएको उनले सुनाए। त्यही घर गाउँको सम्झनामा उनको दिन बित्ने गर्छ। भुटानमै तीन छोरीहरु छन् तर बुवाको स्याहारका लागि उनीहरु आउन पनि पाउँदैनन्। न पूर्णबहादुर नै छोरीहरुसँगै भुटान जान पाउँछन्। भन्छन्, ‘भुटान जान पाए छोरीहरुले हेर्थे। अब यहाँ मलाई कस्ले हेर्छ र ?’

अहिले नशाको बिरामीले गर्दा उनलाई हिँड्न पनि गाह्रो पर्न थालेको छ। उनको छाप्रोमा अपरान्हतिर पुग्दा एकजना सहयोगीले झापाको दमक चोकमा रहेको शरणार्थी चिकित्सक डा. भम्पा राईकहाँ लैजान तयारी गरिँदै थियो।

उनी सक्दा आफै पकाएर खान्छन् नसक्दा भोकै सुत्छन्। राति तिर्खा लागेमा पानी पिउन दिने मान्छे छैनन्। राति पिसाब लाग्छ भनेर पानी कम पिएर सुत्ने गरेको बाध्यता उनले सुनाए। उनले भने, ‘राति उठ्न सक्दिन। पिसाब लाग्छ भनेर पानी पनि कम पिएर सुत्छु। बिरामी भएको बेला त झन् यत्रो दिन मलाई किन बचाएर राखेको भगवान भन्छु।’

उनले आँखा देख्न छाडेका छन्। घरमा यता उता गर्दा पनि छाम छुम गरेर हिँड्नुपर्छ। भन्छन्, ‘अब त आँखाले काम गर्दैन। देख्न छोडेँ।’

अहिले शिविरमा रहनेहरु अधिकांश बृद्ध बृद्धा छन्। उनीहरु अधिकांश दिन लामो समय गफ लामो समय गफ गरेर बिताउँछन्। पीडा साटासाट गर्छन्। तर ‘भुटान कहिले फर्कने?’ को उत्तर कसैसँग छैन। न नेपाल सरकारले दिन सकेको छ न कुनै अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले।

सम्मानका साथ जन्मभूमि फर्कने आशामा करिब तीन दशक लामो समय शरणार्थी जीवन बिताएका बृद्ध बृद्धा दिनप्रतिदिन कमजोर बन्दैछन्। जवानीमा देशबाटै लखेटिए। बुढेसकालमा छोराछोरीले छाडेर जाँदैछन्।

एक लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएर शिविरमा बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपांगता भएका, आफन्त नभएका, असक्त तथा बुढा बुढी रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?