
विर्तामोड- बिहेको जग्गेबाटै बुधबार बेहुला र बेहुलीले झापा धुलाबारीकी असहाय देबी मेचेको घर निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।
गौरादहका बेहुला रुपकराज कंडेल र मेचीनगर–७, जोरसिमल घर भएकी बेहुली मोनिका ओलीले आफ्नो बिहेको खर्च कटाएर मेचेको निर्माणाधिन घरका लागि एक लाख नगद सहयोग गरेको देबी मेचे अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए।
धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न वैवाहिक कार्यक्रम चलिरहेकै बेला बेहुला र बेहुली दुवै परिवारका सदस्यहरुको उपस्थितीमा उक्त रकम अभियानका संयोजक बिजय डालमियालाई हस्तान्तरण गरिएको अभियानका सचिब टिकाराम मगरातीले बताए।
१२ बर्ष अघि करेन्ट लागेर दाहिने हात गुमाएकी देबी मेचेको ५ दिनको सुत्करी अवस्थामा पतिको समेत मृत्यु भएपछि उनी असहाय बनेकी छिन्।
धुलाबारी बजारस्थित घोडापट्टिमा डेरा गरेर बसेकी मेचेका दुई छोरी छन्।
मेचेको घर निर्माणका लागि काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माको परिवारले किनिदिएको मेचीनगर–९ मा रहेको ७ धुर जग्गामा अहिले घर निर्माणको काम चलिरहेको देवी मेचे अभियानका सदस्य सुशील आचार्यले बताए।