सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। १८ महिने पशु विज्ञान विषय अध्यापन गराइरहेको विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको हो।
विद्यार्थीहरूको शिक्षण सिकाईमा सहजताका लागि र गाउँका कृषकलाई सस्तो र सुलभ सेवा दिनका लागि पशु स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिए। कृषकहरूलाई पशु स्वास्थ्य सम्बन्धि निःशुल्क प्राविधिक सल्लाह, सबै पशुहरूको स्वास्थ्य परीक्षण, औषधि, र कृत्रिम गर्भाधारण लगायतका सेवा दिने जनाएको छ।
‘विद्यार्थीहरूको पढाईमा पनि सहयोग पुग्ने र अभिभाकहरूलाई पनि सेवा प्रदान गर्ने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएका हौँ’ विद्यालयका पधानाध्यापक पौडेलले भने, ‘हामीले यसका लागि पशु डाक्टरको पनि व्यवस्था गरेका छौँ। अब कृषकहरूलाई टाढा जानुपर्ने बाध्यता हट्नेछ।’
उनले अब विद्यालयले छिट्टै गाई फार्म लगायतका पशुपालन फार्महरू संचालनको तयारी गर्ने बताए। पशुविज्ञान विषय पढिरहेका विद्यार्थीहरूलाई विद्यालयले ३ प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने योजना रहेको उनले बताए। आगामी वर्षमा पशु विज्ञान बिषयमा तीन वर्षे कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
अहिले १८ महिने पशु विज्ञान बिषयमा ३५ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। सुर्खेतसहित जुम्ला, डोल्पा, कालिकोट, हुम्ला र जाजरकोटका विद्यार्थी अध्ययनरत छन्। वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले अबको शिक्षा प्राविधिक र व्यवहारिक हुनुपर्ने भन्दै विद्यालयले राम्रो काम भनेर प्रशंसा गरे।
उनले विद्यालयको स्रोतसाधनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । विद्यालयले घरनजिकै पशु स्वास्थ्य क्लिनिक संचालन गरेपछि आफुहरूलाई सहयोग पुग्ने भन्दै अभिभावकहरू खुशी भएका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































