
विर्तामोड– भद्रपुर नगरपालिका वार्ड नं ९ स्थित मनसा सिमेन्ट फ्याक्ट्रीका म्यानेजर कमलसिंह दुगडको हत्याराको नजिकमा पुगिसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुगडको शुक्रबार राति फ्याक्ट्रीको कार्यालय भित्र हत्या भएको थियो। हत्यारा पत्ता लगाउन धरानबाट तालिमप्राप्त कुकुर ‘जर्मन सेफर्ड’ल्याइएको थियो।
उक्त कुकुरले दुगडको शवलाई सुँघेर सिधै बाहिर निस्केर गाउँ पसेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘हामीले पहिलो चरणको अनुसन्धान प्रक्रिया पूरा गरेका छौं। हामी हत्याराको नजिकमा छौं। सबै प्रमाण जुटाएर पक्राउ गर्छौं।’
फ्याक्ट्रीमा सिसिटिभी क्यामेरा जडान नगरिएकाले अनुसन्धानमा चुनौती थपिएको डिएसपी श्रेष्ठले बताए। उनले भने, ‘त्यत्रो लगानी गरेर फ्याक्ट्री स्थापना गर्ने तर सिसिटिभी क्यामेरा नराखेकाले अनुसन्धान गाह्रो भयो।’
दुगडको नचिनेका मानिसको समूहले हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या गरेको अवस्था शव शनिवार बिहानभेटिएको थियो।
भारतको विशाखापट्नमका दुगड गएको दुई वर्षदेखि मनसा सिमेन्ट उद्योगमा कार्यरत थिए । उनी शनिबार घर फर्किने तयारीमाथिए। शनिबार बिहान ड्राइभर उनलाई लिन आउँदा नउठेपछि ढोका फोरेर हेर्दा उनी मृत भेटिएका थिए।