
काठमाडौँ – शिक्षण अस्पतालले अस्पताल परिषरभित्र अनशन नबस्न भन्दै विज्ञप्ति प्रकाशन गरेपछि रिले अनशनमा बसेका चिकित्सकहरु थप आक्रोशित भएका छन् ।
डा. गोविन्द केसीको अनशन आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अनशन बसेका चिकित्सकहरुले परिषरमा मात्र नभई अस्पतालको आइसीयूमै गएर अनशन बस्न सक्ने चेतावनी पनि दिएका छन् । धर्नामा बसेका नेपाल चिकित्सकका वरिष्ठ उपाध्यक्ष ढुन्डीराज पौडेलले डा. केसीको जीवन रक्षाका लागि आइसीयूमा गएर पनि अनशन बस्न सक्ने चेतावनी दिए ।
शिक्षण अस्पतालले अस्पताल परिषसमा धर्ना नबस्न चिकित्सकहरुलाई आग्रह गरेको थियो । ‘अस्पताल परिषरमा हुने धर्ना, अनशन, प्रदर्शन जस्ता कार्यले सर्वसाधारणलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न असर पर्नेमा ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा धर्ना अनशन जस्ता विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहन्छौँ’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले अनशन छोडेर उपचारमा फर्कन चिकित्सकहरुलाई आग्रह गरेको छ । उक्त विज्ञप्ति प्रधानमन्त्री गृहमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री लगायतलाई पनि वोधार्थ पठाइएको छ ।