काठमाडौँः हृदयघात भएपछि अस्पताल भर्ना भएको करिब २२ घण्टापछि पूर्वयुवराज पारसको स्वास्थ्यबारे पहिलो पटक चिकित्सकले मुख खोलेका छन्।
सोमबार अपरान्ह सवा चार बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका शाहको उपचारको नेतृत्व गरेका मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टले उनको स्वास्थ्यबारे देशसञ्चारलाई बताएका हुन्।
भट्टले शाहलाई पहिले जस्तै गम्भीर प्रकृतिको हृदयघात भएको, त्यसको उपचार जारी रहेको बताएका छन्। तेस्रो पटक हृदयघातको सिकार भएका शाहको स्वास्थ्य कमजोर रहेको र विशेष सावधानी अपनाउनु पर्ने डा. भट्टको सुझाव छ ।
‘ छाती दुखेपछि उहाँ अस्पताल आउनु भयो । जाँच गर्दा हृदयघात भएको पुष्टि भयो । त्यसको सबैभन्दा राम्रो उपचारका लागि एन्जियोग्राफ्र गरियो। मुटुको एउटा धमनी बन्द थियो । हाम्रो टिमले त्यसलाई सावधानीपूर्वक खोलेर स्टेन्ट प्रत्यारोपण गरिसकेका छौँ । उहाँ अहिले स्थिर हुनुहुन्छ ।
शाहको कहिले डिस्चार्ज हुन्छ भन्ने प्रश्नमा डा. भट्टले भने,’ हृदयघातका बिरामी ४८ देखि ७२ घण्टासम्म गम्भीर मानिन्छ। धेरै समस्या आउने सम्भावना हुन्छ। त्यसैले अहिले नै उहाँ खतरामुक्त हुनुहुन्छ भन्न मिल्दैन । डा. भट्टका अनुसार शाह डिस्चार्ज हुन अझै दुई या तीन दिन लाग्न सक्छ।
भट्टले शाहलाई पटक पटक हृदयघात भइसकेको र उनको मुटु निकै कमजोर अवस्थामा रहेको समेत खुलाए। ‘उहाँको मुुटु निकै कमजोर छ । उहाँले धेरै नै सावधानी अपनाउनु पर्ने छ । नियमित औषधि सेवन गर्नु पर्ने छ । र समयसमयमा जाँच गराउनु पर्छ। धेरै भागदौढ गर्न उहाँलाई मिल्दैन,’डा. भट्टले शाहलाई सुझाव दिए।
स्टेन्ट प्रत्यारोपणको केही घण्टापछि शाहले सामान्य सुप र खाना खाइरहेको र कुराकानी गर्ने अवस्थामा उनी रहेको डा. भट्टले जानकारी गराए।
सोमबार पाटनको विभिन्न मन्दिरमा पूजाआरधाना गर्दै गर्दा शाहले छातीमा पीडा महससु गरेका थिए। तर, पूजा समाप्त नहुञ्जेल उनले कसैलाई बताएनन् । मन्दिरबाट निस्कनै लाग्दा पारिवारिक सदस्यलाई आफ्नो पीडाबारे उनले जानकारी गराए ।
यद्यपि उनी त्यहाँबाट कमलादीस्थित फुपु शोभा शाहीको घरमा गए र केहीबेर आराम गरे। पीडा बढ्न थालेपछि गाडीमा राखेर अस्पताल पुर्याइएकाे थियो।