
काठमाडौँ—चार दिनदेखि अस्पतालमा उपाचारार्थ भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
उनको उपचारमा संलग्न चिकित्सक डा. यादवदेव भट्टका अनुसार क्याबिनमा सारिएका उनी हिँडडुल गर्न र सामान्य क्रियाकलाप गर्न थालेका छन्।
माघ १४ गते मुटुमा पीडा महसुस भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो।
जाँचका क्रममा उनलाई हृदयाघात भएको पुष्टि भएपछि उनको मुटुको एउटा धमनी खोलेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो।
शाहलाई भेट्न उनकी आमा पूर्वरानी कोमल सिमराबाट सडकमार्गबाटै सोही दिन राति करिव दस बजे काठमाडौँ आएकी थिइन्। उनका छोरा हृदयेन्द्र नियमितरुपमा उनलाई भेट्न नर्भिक पुग्ने गरेका छन्।
शाहको स्वास्थ्यमा सुधार आउन थालेपनि चिकित्सकहरुले भने बारम्बार उनलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न सम्झाइरहेका छन्।
डा. भट्टले भने, ‘उहाँ हिडडुल त गर्न सक्ने हुनुभयो तर उहाँले आफ्नो जीवनशैलीमा धेरै सुधार ल्याउनुपर्छ, धेरै सावधानी अपनाउनु पर्छ।’