
दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई यातना दिने काम बन्द गर्न आग्रह गरेका छन्।
उनले भने, ‘बाबु आमा, शिक्षकहरुलाई म भन्न चाहन्छु, बाल बालिकालाई कुट्ने पिट्ने काम बन्द गरौं।’
झापाको दमकमा बाल महोत्सवको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार बालमैत्री सरकार भएको बताए। उनले भने, ‘अब कुनै पनि बालबालिका विद्यालय जानबाट बन्चित हुनु पर्दैन।’
उनले सरकार विकास निर्माणका काममा लागिरहेको बताएका छन्। उनले जनताको आवश्यक्ता अनुसार काम गरिरहेको बताए।
ओलीले भने, ‘जनताको चाहना के हो, त्यसलाई जानकारीमा राखेर सरकारले काम गरिरहेको छ।’
ज्येष्ठ नागरिक भत्ता आफ्नै पार्टीको सरकारले शुरु गरेको बताउँदै अब पनि उक्त भत्ताको रकम आफ्नै सरकारले बढाउने ओलीले बताए।
नेपालले गरेको कामले अन्तर्राष्ट्रिय जगतसमेत अचम्ममा परेको उनको भनाइ थियो। उनले भने, ‘विदेशी सरकारहरु हाम्रो काम देखेर छक्क परेका छन्।’
छिमेकीहरुको सम्बन्ध समान बनाएको दाबी गर्दै ओलीले त्यो कसैका विरुद्धमा नभएको बताए।