
काठमाडौँ – दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ । डा. गोविन्द केसीको अनशनका बाबजुद सदनले विधेयक पारित गरेको हो । डा. केसीले आफ्ना माग सम्बोधन नभएको भन्दै १६ औँ पटकको अनशन थालेको २४ दिन भएको छ ।
डा. केसीले इलामबाट सुरु गरेको यो पटकको अनशनमा सरकारले बेवास्ता गरेको देखिएको छ । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । उनको समर्थनमा आन्दोलन भइरहेका छन् । दैनिकजसो प्रदर्शन हुँदै आएका छन् ।
यहि क्रममा दुई युवा विद्यार्थीले रत्नपार्क शान्तिबाटिकामा डा. केसीको समर्थनमा ७२ घण्टे अनशन बसिरहेका छन् । खेमबहादुर मगर र अर्जुनप्रसाद कोइराला अनशनमा बसेको शुक्रबार तीन दिन लागेको छ ।
उनीहरु ‘म अर्को डा. केसी’ नारासहित शहीद दिवसको दिन अर्थात माघ १६ गते बेलुका ६ बजेदेखि अनशनमा बसेका हुन् । उनीहरुको ७२ घण्टे अनशन शनिबार बेलुका ६ बजे पूरा हुनेछ ।