
विर्तामोड- महिला तथा पुरुषबीच भेदभाव हुने गरेको कुरा सार्वजनिक भइरहँदा बजारका अधिकांश होटल तथा रेस्टुरेन्टहरुमा जो कोही पुरुषकै भान्सामा रमाउने गरेका छन्।
जति होटल तथा रेस्टुरेन्टहरु छन्, अधिकांशमा पुरुष नै भान्से छन्। तर होटलका अधिकांश पुरुष भान्सेहरुको घरमा भने महिला नै भान्से हुने गरेका छन्।
होटलका भान्सा तयार गर्ने धेरै पुरुष कुकहरुले घरमा पकाउने भने जाँगर नचल्ने गरेको बताएका छन्। घरका भान्सामा खटिने महिलाहरु भन्छन्, ‘सबै कुरा ठिक्क पारेर राखिदिए मात्र पुरुषहरुले पकाउन जाँगर चलाउँछन्।’
विर्तामोड झापाको एउटा होटलको किचनमा विर्तामोडकै ललित सहनीले खाना पकाउने कुकको काम गरेको करिब चार बर्ष भयो। उनी होटलमा घन्टौं खटिन्छन्। तर घरमा भने उनलाई किचनमा पस्न पनि मन लाग्दैन।
सहनी भन्छन्, ‘घरमा श्रीमतीले पकाउँछिन्। घरको किचनमा पस्न पनि मन लाग्दैन। बरु बाहिर हिँड्न तयार हुइन्छ।’ अर्का कुक दिपक राजवंशीको विहे भएको त छैन तर पनि उनको घरमा उनकी आमाले खाना पकाउने गरेकी छिन्।
होटलमा काम गर्ने धेरै कुकहरुको घरको भान्सामा घरका महिला सदस्य नै खटिने गरेका छन्। होटलमा काम गर्ने कुकहरुको घरमा मात्र होइन अधिकांशको घरका किचनको काममा महिला नै खटिने गरेका छन्।
विर्तामोडमै एउटा होटल सञ्चालन गरिरहेकी कञ्चना बरालले भनिन्, ‘होटलमा रक्सी पिउने मानिसहरु आउने भएकाले पनि आफ्ना छोरी चेली काम गर्न पठाउँदैनन्। अर्को कारण चाहिँ पुरुषहरुलाई सबै कुरा ठिक्क पारिदिए पकाउन तयार हुन्छन्। घरमा त्यो संभव हुँदैन। पकाउने बस्तु पनि पकाउने मान्छेले नै तयार गर्नुपर्छ।’
उनको होटलमा पनि उनका श्रीमान् होटलको किचनमा खटिएका हुन्छन् भने घरमा उनी आफैं। तर घरका किचनमा खटिने महिलाहरुलाई पनि घर बाहिर होटलमा गएर खानपिन गर्न मन लाग्छ। पुरुषहरुले पकाएको परिकार मिठो मानेर खाने गरेको उनीहरु सुनाउँछन्।
विर्तामोड झापाकी सोनी अग्रवाल भन्छिन्, ‘घरमा जे पाक्छ त्यो हामी होटलमा खाँदैनौं। अन्य खानेकुरा खान्छौं। यति हो खानेकुरा स्वस्थकर हुनुपर्यो, सफा हुनुपर्यो। हामीलाई होटलमा खाँदा स्वाद फेर्न पाइन्छ। मिठै लाग्छ।’
संभव भएसम्म घरका किचनका काममा पनि घरका पुरुष सदस्यले पालो दिए आफूहरुलाई राहत मिल्ने कतिपय महिलाहरुले बताउने गरेका छन्।