
काठमाडौँ– ‘नमुना आँखा अस्पताल’को उपमा पाएको ‘नेपाल आँखा अस्पताल’ आँखाको उपचारका लागि एक भरपर्दो नाम हो ।
काठमाडौँको त्रिपुरेश्वरमा वि.सं. २०३० सालमा स्थापना भएको यो अस्पताल, नेपालको पहिलो आँखा अस्पताल हो । यसभन्दा पहिले नेपालकै जेठो वीर अस्पतालमा आँखाको उपचार हुने गरेको थियो । जहाँ आँखाको उपचारका लागि १६ वटा शैया छुट्याइएको थियो। नेपालमा त्यतिवेलासम्म आँखाको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था थिएन।

डा. रामप्रसाद पोख्रेल
वीर अस्पतालमा आँखाको उपचारको लागि आउने बिरामीले समस्या भोग्दै आएका थिए। बिरामीले भोगेको अप्ठ्यारो आफ्नै आँखाले देखेका डा. राम प्रसाद पोख्रेल अर्थात ‘आँखा बा’ लाई बिरामीका लागि केही गर्नुपर्ने सोच आयो।
त्रिपुरेश्वरमा रहेको एउटा खाली भवनमा उनले आँखा अस्पतालको सुरुवात गरे। केही समय त्यही भवनमा बिरामीको उपचार गरे। तर भवन जिर्ण अवस्थामा भएका कारण उनलाई नयाँ भवनको आवश्यकता महसुस भयो। उनले आफ्नै पहलमा क्यानडा सरकारको सहयोगमा अस्पतालको नयाँ भवन बनाए।
नेपाल आँखा अस्पताल विस्तारै ‘नमुना आँखा अस्पताल’ का रुपमा परिचित हुन थाल्यो। डा. पोख्रेलका अनुसार सुरुवाति दिनमा दैनिक २० देखि २५ जना बिरामी मात्र उपचारको लागि आउँथे। विस्तारै नेपाल आँखा अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गयो। बिरामीको संख्या २०/२५ बाट बढेर दैनिक ५ सय सम्म पुग्न थाल्यो।
उपत्यका भन्दा बाहिरका बिरामीको अस्पतालसम्म पहुँच थिएन। बाहिरी जिल्लामा आँखाको भरपर्दो उपचार सेवा नभएका कारण बिरामीहरु उपचारका लागि काठमाण्डौँ आउन थाले। यस्तो अवस्थामा देशभरका बिरामीको चाप नेपाल आँखा अस्पतालले मात्र थेग्न सक्ने अवस्था थिएन।
आँखाको उपचारमा सफलता पाएसँगै अस्पतालको लोकप्रियता दिन प्रीतदिन बढ्दै गयो। उपचार सँगसँगै अस्पतालले विभिन्न जिल्लामा तालिम र आँखा शिविर सञ्चालन गर्न थाल्यो। अस्पतालले आँखा रोगका बारेमा विभिन्न ठाउँका जनतामा जनचेतना फैलाउने काम गर्यो। त्यसपछि विस्तारै मानिसहरु आँखा रोगका बारेमा बुझ्दै गए। उनीहरु आँखामा लाग्ने रोगका सम्बन्धमा सचेत हुँदै समय–समयमा चेकजाँच गराउन थाले।
यसरी नेपाल आँखा अस्पताल बिरामी माँझ लोकप्रिय बन्दै गयो। सबै कुरा विस्तारै परिर्वतन हुदै गए। आँखाका डाक्टरको संख्या बढ्दै गयो। उपत्यकामा अन्य आँखा अस्पताल थपिन थाले। नयाँ अस्पताल सञ्चालन भएसँगै अस्पतालबीच प्रतिस्प्रधा बढ्न थाल्यो। बिरामीहरु बाँडिन थाले।
बिरामीहरुले गुणस्तरीय सेवासुविधामा ध्यान दिन थाले। विस्तारै नेपाल आँखा अस्पताल सेलाउन थाल्यो। बिरामीको संख्या क्रमशः घट्दै गयो। नेपाल आँखा अस्पताललाई अरु अस्पतालले उछिन्ने अवस्था आयो। नेपाल आँखा अस्पताल गुमनाम जस्तै भयो।
त्यही समयमा नेपाल आँखा अस्पतालले विभिन्न जिल्लाहरुमा, स्कुलहरुमा निशुल्क आँखा शिविर संचालन गर्यो। पछिल्लो समय नेपाल आँखा अस्पतालले विस्तारै आफूले गुमाएको आफ्नो प्रतिष्ठा फिर्ता पाएको छ।
अहिले बिरामीको चाप फेरि पहिलेकै अवस्थामा पुगेको नेपाल आँखा अस्पतालका कार्यकारी अधिकृत दामनबहादुर घले बताउँछन्। उनले भने,‘आँखा रोग सम्बन्धमा सर्बसाधारणमा धेरै जनचेतना फैलिएको छ, उहाँहरु सामान्य चेकजाँचका लागि पनि अस्पताल आउने गरेको पाइएको छ।’
कार्यकारी अधिकृत घलेका अनुसार अस्पतालमा अहिले अन्य जिल्लाबाट समेत आँखा सम्बन्धी जटिल समस्या र शल्यक्रिया गर्नुपर्ने बिरामी आउने गरेका छन्। अस्पतालले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेर बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको घलेले बताए। अस्पतालले केही समय अगाडि ओपिडी हलको स्तरोन्नती गरेको छ।
हलको स्तरोन्नतीपछि पहिलेको तुलनामा कर्मचारी र बिरामीलाई काम गर्न र सेवा लिन निकै सहज भएको अधिकृत घलेले बताए। ‘स्तरोन्नतीपछि आपिडिको रुपरंग नै फेरिएको छ, अहिले चश्मा र औषधी पसल ओपिडिको नजिकै भएकाले बिरामीलाई धेरै सहज भएको छ,’ उनले भने, ‘अस्पताल पूर्णरुपमा बिरामी मैत्री भएको छ।’
अस्पतालहरुबीच बढिरहेको प्रतिस्पर्धा र चुनौतिबीचमा पनि नेपाल आँखा अस्पतालले बिरामीलाई न्यूनतम शुल्कमा सेवा दिँदै आइरहेको छ। बिरामीले अस्पतालमा बिहान ८ बजेदेखि १२ बजेसम्म ८० रुपैयाँ र दिउँसो तीन बजे पछि ३ सय रुपैयाँ शुल्क तिरेर उपचार गराईरहेका छन्।
जाडोको समयमा आँखाका बिरामी कमहुने हुँदा चेकजाँचका लागि दैनिक ४ सयदेखि ५ सयसम्म आउने गरेका छन् भने दिनमा करिब २० देखि २५ जनाको शल्यक्रिया गरिने गरेको घलेले जानकारी दिए। अहिले अस्पतालमा १४ जना आँखा विशेषज्ञ कार्यरत छन्।
सामुदायिक अस्पतालले निजी अस्पतालको जस्तो सेवा सुविधा दिन सक्दैनन् भन्ने सोचलाई यो नमुना अस्पतालले गलत सावित गरेको छ। अधिकृत घले भन्छन्, ‘हामी कुनै पनि निजी अस्पताल भन्दा कम छैनौँ, आउनुहोस् यहाँको सेवा सुविधा लिनुहोस् र स्वस्थ रहनुहोस्।’
यस अस्पतालले करिब एक वर्षदेखि उपत्यकाका चार ठाउँ थानकोट, टोखा, खोकना र साँखुमा स्याटलाइट उपचार केन्द्रसमेत स्थापना गरेको छ। यस्ता उपचार केन्द्र स्थापना गरेर काठमाडौंलाई दृष्टिविहिनमुक्त बनाउने अस्पतालको योजना रहेको छ।
यति मात्र नभएर अन्य विभिन्न ठाउँमा समेत स्याटलाइट उपचार केन्द्र स्थापना गर्ने अस्पतालको लक्ष्य रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले बताए।
नेपाल आँखा अस्पतालले आफूलाई अस्पतालको रुपमा मात्र नभएर एउटा रिसर्च सेन्टरको रुपमा समेत स्थापित गर्ने लक्ष्य राखेको छ।