
वीरगञ्ज- वीरगन्ज महानगरपालिका-२२ मनियारीमा वर्षौदेखि खरको झुप्रोमा बस्दै आएका मुसहरहरुका लागि एक करोड रुपैयाको लागतमा पक्की घर बनाउन थालिएको छ।
मनियारीमा रहेको दलितवस्तीका मुसहर जातिका ४२ घरपरिवार वर्षौदेखि माटो र खरले बनाइएको झुपडीमा बस्दै आएका छन्। मुसहरवस्तीमा पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नमूना मुसहरवस्ती बनाउन थालेका हुन्।बुधबार मुसहरवस्तीमा सांसद यादवले नमूना मुसहरवस्तीको शीलान्याश समेत गरेका छन्।
आफनो निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार कोषबाट सांसद यादवले नमुना मुसहर वस्ती निर्माण गर्न थालेका हुन्। नमूना मुसहरवस्ती निर्माणका लागि सांसद यादवको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैया र वीरगन्ज महानगपालिकाको कार्यालयबाट ३० लाख रुपैया विनियोजन गरिएको छ।
नमुना मुसहरवस्तीमा, विपन्न मुसहरजातिका लागि ४२ वटा एकतल्ले पक्की घर र प्रत्येक घरका लागि एक एक वटा शौचालय निर्माण गरिने छ। नमुना मुसहरवस्तीमा प्रत्येक परिवारका लागि १०÷१० फिट क्षेत्रफलको एउटा कोठा, ४÷७ फिट क्षेत्रफलको शौचालय सहितको स्नानघर र बरण्डाको संरचना निर्माण गरिनेछ। वीरगन्ज महानगर क्षेत्रमा मनियारी , नगवा र बेल्वामा गरि तीन स्थानमा मुसहरवस्ती रहेको छ।
सांसद यादवले अुनगमनका क्रममा तीनवटै मध्ये मनियारीको मुसहरवस्ती सबै भन्दा पिछडिएको अवस्थामा रहेको पाइएपछि पहिलो चरणमा नमूना मुसहरवस्ती निर्माणका लागि मनियारको मुसहरवस्तीलाइ छनौट गरिएको बताए।मुसहर जातिका स–साना बालबालिकाहरुका लागि नमुना मुसहरवस्तीमै विधालय भवन पनि निर्माण गरिने घोषणा सांसद यादवले गरे।
अर्को चरणमा नगवा र बेल्वाका मुसहरहरुका लागि पनि आफुले नमुना मुसहरवस्ती बनाइदिने प्रतिबद्धता जनाउदै उनलेभ भने ,‘ म यहि गाँउमा जन्मेको हु , यहाका मुसरहरुको दुख र दर्द देखेर मेरो मन कुडिन्थ्यो। चुनावका बेला पक्की घर बनाइ दिने वाचा गरेको भन्दै सांसद यादवले अहिले त्यो बेलाको वाचा पुरा गर्न पाउदा धेरै आत्मसन्तुष्टि महशुस भइरहेको बताए।
आफनो कार्यकालमा पर्सा क्षेत्र नम्बर १ का कोही पनि घरविहीन नहुने पनि उनले बताए। बुधबारको शीलान्याश कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डाक्टर भीष्म कुमार भुषाल, संघीय समाजवादी फोरम नेपाल पर्साका प्रवक्ता रामनरेश राय यादव लगायतको पनि उपस्थिति थियो।