
सिलिगुडी- भारतबाट बंगलादेश र भारतबीचको नाका फूलबारीबाट शुरु भएको एसियाली राजमार्ग स्तरोन्नति गरेर चार लेनको बनाउने काम नेपाल भारतको सीमाना मेची पुलमा आइपुग्दा पनि नेपालतिर बन्ने अहिले कुनै संकेत देखिएको छैन।
भारतले बंगलादेश भारतको नाका फुलबारी र नेपालको सीमा जोड्ने एसियाली राजमार्ग लगभग बनाइसकेको छ। ३८ किलोमिटरको उक्त राजमार्ग नेपाल भारतको सीमावर्ती मेची पूलमा टुंगिएको छ।
तर नेपालपट्टि कहिले बन्छ भन्ने कुरा नेपाली अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन्। उक्त राजमार्ग फुलबारी नाका हुँदै बागडोग्रा, नक्सलबारी तथा नेपाल भारत सीमा बजार पानी टेंकीसम्मको क्षेत्रमा बनेको हो।
एक समयमा नेपालको पूर्व पश्चिम राजमार्ग भन्दा कम फराकिलो बाटो अहिले उक्त बाटो ४ लेन तथा दुई लेनको बनिरहेको छ।
सन् २०१६ को जनवरी महिनामा बनाउन सुरु गरिएको उक्त राजमार्गको निर्माण २०१९ को शुरुसम्ममा बनिसकेको उक्त राजमार्ग निर्माण आयोजनाका निर्देशक निर्मल मण्डलले जानकारी दिए। काम सुरु भएको करीब एक बर्ष भित्रमै करिब पचास प्रतिशत काम सम्पन्न भइसकेको थियो।
मण्डलले भने, ‘हामीसंग प्राप्त भौतिक निर्माण सम्पन्नको रिपोर्ट अनुसार ९० प्रतिशत काम गरिसकेका छौं।’
उक्त राजमार्गमा पर्ने विजुली विस्तारका पूर्वाधार सार्ने तथा राजमार्गको जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई मुआब्जा वितरण पनि उक्त एक बर्ष भित्रमै सकिएको आयोजना प्रमुख मण्डलले बताए।
उनले भने, ‘हामीले राजमार्गका जग्गा अतिक्रमण गरेर बसेका प्रत्येक मानिसको घर घर गएर तथ्यांक लियौं र जिल्ला प्रशासन मार्फत मुआब्जा वितरण गर्यौं।’
नेपालमा धेरै विकास निर्माणका काममा मुआब्जा वितरण मुख्य समस्याका रुपमा रहँदै आएको छ। तर एसियाली राजमार्गको निर्माणका क्रममा भने निर्माण शुरु भएकै बेलादेखि मुआब्जा समस्यालाई समाधान गर्न शुरु गरिएको भारतीय अधिकारीहरुले बताएका छन्।
भारतले नेपालको सीमासम्मको आफ्नो भूभागमा राजमार्ग बनाउने काम तीब्र बनाए पनि नेपाल पट्टि बनाउने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन। सडक डिभिजनका कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘अहिलेसम्म हामीकहाँ कुनै त्यस्तो जानकारी छैन पूर्व पश्चिम राजमार्ग विस्तारका बारेमा।’
भारतमा बनिरहेको नेपालको सीमासंग जोडिएको उक्त राजमार्ग १६ किलोमिटर ४ लेन र २२ किलोमिटर २ लेनको रहने भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।एशियाली विकास बैंकको सहयोगमा बनिरहेको उक्त राजमार्गको लागत ७ सय ८ करोड भारतीय रुपैयाँ रहेको छ।