
विर्तामोड – प्रेस सेन्टर झापाले प्रेस चौतारी र फोनिज झापाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा गरेको तालाबन्दीप्रति आपत्ति जनाएको छ। उसले चौतारी र फोनिजलाई तत्काल ताला खोल्न आग्रह गरेको छ।
प्रेस चौतारी झापा शाखा र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा माघ २९ गते लगाएको थिए।
बुधबार सेन्टरका झापा अध्यक्ष टीकाराम उप्रेती र सचिव लीलाराज झापालीले जारी गरेको विज्ञप्तिमा तालाबन्दी नेपाल पत्रकार महासंघ झापा शाखाले सुरु गरेको शुद्धिकरण अभियानका विरुद्ध भएको ठहर गरेको उल्लेख छ।
तालाबन्दी पत्रकार आचारसंहिता, नेपाल पत्रकार महासंघको विधान, महासंघ केन्द्रीय समितिको धुलिखेल बैठक, प्रदेस समितिको बैठक, महासंघको पुस ४ र ५ गते विराटनगरमा भएको राष्ट्रिय सम्मेलन र महासंघ झापा शाखाको निर्णय विरुद्ध भएको सेन्टरले निस्कर्ष निकालेको छ।
विज्ञप्तिमा महासंघ झापा शाखाले पत्रकार आचार संहिता कार्यान्वयन र सदस्यता शुद्धिकरणका लागि गरेको निर्णय प्रति प्रेस सेन्टर झापाले समर्थन गरेको छ ।
विधान तथा सदस्यता नवीकरण निर्देशिका अनुसार पत्रकारितामा क्रियाशील भएको प्रमाण पेस गर्नुपर्ने प्रावधान विपरित सदस्यता नवीकरण नगर्न महासंघ झापा शाखालाई प्रेस सेन्टरले आग्रह गरेको छ।