
काठमाडौँ – ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइएको छ ।
सेनाको हेलिकप्टर मार्फत ल्याएका शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोष्टमार्टमका लागि त्रिवि अस्पतालमा चिकित्सकहरु तयारी अवस्थामा छन् ।
सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठको नेतृत्वमा डा. युगेन डोल्मा, डा. मनि महर्जन, डा. हरिहर ओस्तीसहित अस्पतालका ९ जना अवासिय चिकित्सक, तीन जना डेन्टल चिकित्सक तयारी अवस्थामा छन् । औँलाको छाप र डिएनएका लागि केन्द्रिय प्रहरी प्रयोगशालाको समूह तयार रहेको छ ।
सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।